दुई संघीय मन्त्रीले दिनुभयो पदबाट राजीनामा


काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उहाँहरुले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिनुभएको हो । मन्त्री खरेल बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभयो भने मन्त्री गुप्ता प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा राजीनामा बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।
दुवैजना मन्त्री आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने निर्णयसहित पदबाट राजीनामा दिनुभएको छ । यद्यपि उहाँहरुले राजनीतिक दलको नाम भने राजीनामापत्रमा खुलाउनुभएको छ । जेनजी आन्दोलनपछि बनेको सरकारमा सहभागी मन्त्रीहरुले रास्वपाबाट निर्वाचनमा होमिने अनुमान गरिएको छ ।

