नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन


सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपाको संसदीय दलले नयाँ नेतृत्व पाएको छ। पार्टीभित्र लामो समयदेखि चलिरहेको दलको नेता चयनको प्रक्रिया आज टुंगिएको हो। आज बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई मतको आधारमा बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो ।
नेताको दाबी गर्दै आएका विन्दमान विष्ट र दुर्गाबहादुर रावतसँग सहमति नजुटेपछि मतदानमार्फत निर्णय गरिएको हो। यसअघि दलको नेताका लागि रणसिंह परियार र कृष्णबहादुर जीसीले पनि दाबी प्रस्तुत गर्नुभएको थियो । नेकपाभित्र तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुअघि राजकुमार शर्मा संसदीय दलको नेताको जिम्मेवारीमा रहनुभएको थियो । उहाँले गत १७ मंसिरमा पदबाट राजीनामा दिएपछि दल नेतृत्वविहीन अवस्थामा थियो।
दलको नेता चयनसँगै कर्णाली प्रदेशसभामा नेकपाको आन्तरिक नेतृत्व विवाद अन्त्य भएको छ।

