नेपाली सेनाद्वारा ४१ जना सुत्केरीको उद्धार
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तर पश्चिम पृतना हेडक्वाटरले सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्ला बाट छ महिनाको अवधीमा ४१ जना सुत्केरीहरु उद्धार गरेको जानकारी दिएको छ । कर्णालीको डोल्पामा चार, मुगुमा दुई, दैलेखमा ६, हुम्लामा दुई, रुकुममा दुई, जुम्लामा एक, कालिकोटमा तीन, रुकुम पश्चिममा एक र जाजरकोटमा पाँच जना सुत्केरी महिलाको उद्धार गरिएको पृतनाले जनाएको हो ।
यस्तै सुदूरपश्चिमको बैतडीमा एक, डोटीमा दुई, डडेलधुरामा एक, बाजुरामा तीन, दार्चुला र अछाममा चारचार जनाको उद्धार गरिएको जनाइएको छ ।
पृतनाले विपद् व्यवस्थापन कार्य पनि गर्दै आएको छ । २०७९ सालमा अविरल वर्षामा ४१ जना मृत्यु, २८ जना घाइते, २० जना बेपत्ता, ७७६ जना विस्थापित र २ हजार ८७८ जना प्रभावित भएको बताएको छ । त्यस्तै ६० परिवारको स्थानान्तरण र ६३ चौपायाको उद्धार गरिएको थियो ।
त्यस्तै हेलिकप्टरबाट १४ जनाको उद्धार, १४ हजार ७३५ केजी राहत सामग्री ढुवानी, २१२ जना परिचालन गरेर कालिकोटमा सात, बाँके र मुगुमा एकवटा अवरुद्ध सडक खुलाउने कार्य गरेको पृतनाले जानकारी दियो । पृतनाले आफ्नो कार्यक्षेत्रभित्र हेलिप्याड निर्माण पनि गरेको जनाएको छ ।