Loading... आजः आइतवार, बैशाख ६, २०८३
Trending

कोरोना संक्रमणपछि प्रशासनको सेवा अवरुद्ध

दैलेख  :  कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखको नियमित सेवा प्रवाह अबरुद्ध भएको छ । जिल्ला प्रशासनमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरु उपचाररत रहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

उनका अनुसार प्रशासनमा कार्यरत अन्य कर्मचारीहरुमा समेत कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणको क्रममा रहेको र सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यजनर गर्दै भोली माघ १७ गते सोमवारदेखि २१ गतेसम्मका लागि सेवाप्रवाह बन्द गरिएको हो । अनुसार मुद्धा, विपद् व्यवस्थापन र शान्ति सुरक्षाका सेवा प्रवाहरु नियमित रुपमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक दैलेखमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैंकमा कार्यरत अधिकाँश कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ । बैंकद्धारा जारी सूचना अनुसार राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखामा कार्यरत अधिकाँश कर्मचारीहरुलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि एक हप्ता सेवा बन्द रहने उल्लेख छ । गत शुक्रवारदेखि एक हप्तासम्म शाखा कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

लामो समय कोरोना संक्रमितको संख्या शुन्य रहेको दैलेखमा पछिल्लो समय संक्रमणको दर बढ्न थालेको छ । आइतवार सम्म जिल्लामा ९० जनामा संक्रमण पुष्टि भईसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार सबै संक्रमितहरु होम आइसोलेसनमै छन् ।