स्टक कोभिसिल्ड पनि प्राथमिकता तोकेर ७७ जिल्ला पठाइने
काठमाडौं : नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) महामारीको गम्भीर चपेटामा परेको बेला अवरुद्ध बनेको खोप अभियान पुनः सञ्चालनमा आउने भएको छ । चीन सरकारले उपलब्ध गराएको भेरोसिल खोप जेठ २ गतेबाट र स्टकमा रहेको भारतबाट ल्याइएको कोभिसिल्ड खोपको दोस्रो मात्रा (डोज) पनि चाँडै नै शुरु गर्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा झलक गौतमले बताए ।
गौतले करिब पाँच लाख मानिसले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् भने अधिकांशले पहिलो मात्रा लगाएको बताउँदै अब सरकारले आफ्नो स्टकमा बाँकी रहेको कोभिसिल प्राथमिकता तोकेर ७७ वटै जिल्लामा पठाउन लागेको प्रमुख गौतमले बताए । उनले थोरै थोरै मात्रामा भए पनि जिल्लामा खोप पठाउने र चाँडै खोप अभियान फेरि सूचारु गर्ने बताए ।
नेपालका सातै प्रदेशमा माघ १४ गतेदेखि कोभिड खोप लगाउन शुरु गरिएको थियो ।
भारतले सहयोगमा दिएको १० लाख मात्रा कोभिसिल स्वास्थ्यकर्मीहरूलाई लगाएर पहिलो चरणको खोप अभियान शुरु गरिएको थियो । कोरोना महामारी पुनः तीव्र रुपमा बढ्दै गइरहेको बेला खोप केन्द्रहरुमा भीड देखिएपछि वैशाख १५ गतेपछि खोप अभियान केही दिनका लागि स्थगित गरिएको थियो । खोप शाखाका प्रमुख गौतमले जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरु गर्र्ने बताए । पहिलो मात्रा लगाएका दुई लाख ८८ हजार मानिसलाई अब दोस्रो मात्राको खोप लगाइने प्रमुख गौतमले बताए ।