Loading... आजः शुक्रबार, अशोज ९, २०८३
Trending

सीमान्तकृत महिलाका लागि जीवनोपयोगी सीप तालिम 

दैलेख  :   सीमान्तकृत, विपन्न तथा जोखिममा रहेका महिलाहरूको आत्मनिर्भरता, आत्मविश्वास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दैलेखको नारायण नगरपालिकामा सञ्चालित दुईदिने जीवनोपयोगी सीप विकास तालिम सम्पन्न भएको छ। सशक्त महिला, समृद्ध नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको समन्वय र सहजीकरणमा नारायण नगरपालिकाको आयोजनामा उक्त तालीम सम्पन्न भएको हो ।

महिलाहरूको आत्मविश्वास, सकारात्मक सोच, प्रभावकारी सञ्चार, निर्णय क्षमता, समस्या समाधान, नेतृत्व विकास तथा समूहमा काम गर्ने सीप अभिवृद्धिसम्बन्धी विषयमा सहजीकरण गरिएको थियो। साथै, महिलाहरूलाई आफ्नो क्षमता पहिचान गरी उपलब्ध अवसरको सदुपयोग गर्दै आर्थिक तथा सामाजिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गरिएको थियो।
नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले सीमान्तकृत जोखिममा रहेका महिलाहरूको क्षमता विकास र आत्मनिर्भरता प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। महिलाहरूलाई सीप, ज्ञान र अवसरसँग जोड्न सके आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन सकिने उहाँको भनाइ थियो।

तालिममा सहभागी महिलाहरूले सिकेका ज्ञान तथा सीपलाई दैनिक जीवनमा प्रयोग गर्नुका साथै आगामी दिनमा आयआर्जन र उद्यमशीलतामार्फत आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तालिमले महिलाहरूलाई आफ्नो क्षमता पहिचान गर्न, दैनिक जीवनका चुनौती सामना गर्न तथा आर्थिक सशक्तीकरणको दिशामा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।