प्रहरीकै भरमा सम्पदा सरसफाइ


दैलेख : पुर्खाले निर्माण गरेका ऐतिहासिक सम्पदा कुनै ढुङ्गा, माटो र इँटाले बनेका संरचना मात्रै होइनन्, ती दैलेखको इतिहास, सभ्यता र पहिचान बोकेका अमूल्य चिनारी हुन् । तर, तिनै सम्पदाको आँगन फोहोर हुँदा र ऐतिहासिक धरोहरको सौन्दर्यमा असर पर्दा सरसफाइको जिम्मेवारी भने प्रहरीको काँधमा आइपर्ने गरेको छ । दैलेख सदरमुकाममा रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको नियमित सरसफाइमा स्थानीय सरकारको पर्याप्त ध्यान नपुगेको गुनासो भइरहेका बेला जिल्ला प्रहरी कार्यालय दैलेखले भने विभिन्न सम्पदा क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । प्रहरीले पञ्चदेवल क्षेत्रदेखि ऐतिहासिक कोतगढी र बजार क्षेत्रमा रहेका मठमन्दिरसम्म पुगेर सरसफाइ गर्ने गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने सम्भावना बोकेको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको पञ्चदेवल क्षेत्रको संरक्षण, स्वच्छता तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेख र नारायण नगरपालिका–६ को संयुक्त पहलमा हालै सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
दैलेखको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेको पञ्चदेवल क्षेत्रको मौलिकता, ऐतिहासिक गरिमा र पर्यटकीय महत्त्व जोगाउने उद्देश्यले सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो । उहाँले उक्त क्षेत्रमा फोहोर भएको जनगुनासो आएपछि प्रहरी र स्थानीय वडाका जनप्रतिनिधिको सहभागीतामा सरसफाई गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ऐतिहासिक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने र त्यसले नकरात्मक म्यासेज दिने हुँदा सरसफाई अभियान संचालन गरेका हौँ । प्रहरीको सक्रियता पञ्चदेवलमा मात्रै सीमित छैन । ऐतिहासिक कोतगढी तथा सदरमुकाम बजार क्षेत्रमा रहेका मठमन्दिरहरूमा समेत प्रहरीले समय–समयमा सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । धार्मिक आस्था र ऐतिहासिक महत्त्व बोकेका यी स्थलहरूमा प्रहरी कर्मचारी आफैँ सरसफाइमा खटिने गरेका छन् । स्थानीय सरकारले विशेष गरी बजार क्षेत्रका नागरिकको चेतना स्तर तथा नगरपालिका भित्र रहेका सम्पदाहरुको संरक्षणका लागी प्रभावकारी चाँसो नदिएका कारण सम्पदा क्षेत्र मात्र नभएर बजार सरसफाईमा समेत प्रहरीले सरसफाई अभियान संचालन गर्नुपर्ने उहाँको भनाइछ ।
ऐतिहासिक स्थलको नियमित सरसफाइ, संरक्षण, सौन्दर्यीकरण र उचित व्यवस्थापनका लागि स्थानीय सरकार तथा सम्बन्धित निकायले दीर्घकालीन योजना बनाउनुपर्ने स्थानीयले बताएका छन । नारायण नगरपालिका–३ का कृष्ण कोइरालाले स्थानीय सरकारले नगरभित्रका ऐतिहासिक तथा पुरातात्वीक सम्पदाको संरक्षणका लागी बिशेष पहल गर्नु पर्ने भएपनि त्यस तर्फ ध्यान नदिएको बताउनुभयो । उहाँले भन्नुभयो भएका सम्पदाहरुको संरक्षणका लागी घेरवार,हेरालु राख्नुपर्ने हुन्छ । पञ्चदेवल, कोतगढी तथा बजार क्षेत्रका मठमन्दिर दैलेखको इतिहास, धर्म र संस्कृतिसँग जोडिएका सम्पदा भएका कारण पनि जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषक रुपमा देखाउनु पर्ने स्थानीयहरुले बताएका छन । प्रहरी कार्यालयले यस्ता रचनात्मक तथा जनसहभागितामूलक कार्यमार्फत ऐतिहासिक सम्पदाको संरक्षण, स्वच्छ वातावरण निर्माण र नागरिकमैत्री प्रहरी सेवाको प्रवद्र्धनमा सेवा पुग्ने सरोकारवाला निकायले बताएका छन ।

