Loading... आजः शुक्रबार, अशोज ९, २०८३
Trending

लागुऔषध र अनलाइन ठगी नियन्त्रण गर्न नागरिकका सुझाव


दैलेख : पछिल्लो समय युवापुस्ता लागुऔषधको सिकार बन्दै गएको र गाउँका सर्वसाधारण अनलाइन ठगीमा पर्ने क्रम बढेको भन्दै नागरिकले यसको नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले आयोजना डुगेश्वर गाउँपालिका–१ चुप्रामा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले लागुऔषध नियन्त्रणका लागि विशेष चेकजाँच बढाउनदेखि अनलाइन ठगीका उजुरीमाथि तत्काल अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् ।
डुगेश्वर गाउँपालिका–१ का वडाध्यक्ष श्यामबहादुर रानाले पछिल्लो समय युवा पुस्ता लागुऔषधको सिकार बन्दै गएको बताउँदै युवाहरुले अकालमै मृत्युवरण गर्नु परेको बताउनुभयो । उहाँले गाउँका सर्वसाधारण विभिन्न व्यक्तिबाट हुने अनलाइन ठगीमा पर्ने गरेको उल्लेख गर्दै उहाँले लागुऔषध नियन्त्रण र साइबर ठगी रोकथाममा प्रहरीले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
डुगेश्वर गाउँपालिका–१ का युवा प्रकाश थापाले लागुऔषधको प्रयोग नियन्त्रणका लागि प्रहरीले विशेष चेकजाँच गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीले बिशेष चेकजाँच नगरेका कारण लागुऔषध जिल्लामा भित्रिने र युवाहरु त्यसको सिकार बन्नु गरेको बताउनुभयो । उहाँले भन्नुभयो पछिल्लो समय विभिन्न प्रलोभनमा पारी अनलाइन ठगी गर्नेहरुका कारण धेरै नागरिकहरु समस्यामा परेको बताउँदै जिल्ला प्रहरी कार्यालयमा दिइएका उजुरीलाई समेत तदारुकताका साथ अगाडि बढाउनुपर्ने उहाँको सुझाव छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख श्रवण कुमार बिकले नागरिक सुनुवाईमा नागरिकले राखेका गुनासो तथा सुझावलाई कार्यान्वयन गर्न आफु तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो बिशेष गरी लागुऔषध र अनलाइन ठगी, अवैध मदिरा नियन्त्रण तथा ट्राफिक व्यवस्थापनका विषयसमेत उठेका छन् त्यसलाई कार्यान्वनका लागी लागी पर्ने बताउनुभयो । उहाँका अनुसार स्थानीयस्तरमा देखिएका सुरक्षा चुनौती पहिचान गरी नियन्त्रणका लागि प्रहरीको सक्रियता बृद्धि गर्नेछौँ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले युवाहरूलाई लागुऔषधको प्रयोगबाट रोक्न घरका अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । छोराछोरीलाई राम्रो संस्कार दिन सके समाजमा यस्ता क्रियाकलाप न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । लागुऔषध र बालविवाह अन्त्यसँगै सामाजिक सद्भाव कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सारुले बताउनुभयो । सामाजिक विकृति अन्त्यका लागि प्रहरी प्रशासन मात्र नभई परिवार, समुदाय र नागरिक सबैको साझा प्रयास आवश्यक पर्ने उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले नागरिकका गुनासा सुन्न र स्थानीय सुरक्षा चुनौती पहिचान गर्न प्रत्येक तीन महिनामा विभिन्न पालिकामा नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने गरिएको जानकारी दिएको छ ।थानीयस्तरमा देखिएका सुरक्षा समस्या नागरिकबाटै सुन्ने र त्यसका आधारमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसी,उपाध्यक्ष कलावती न्यौपाने लगायतले समाजमा हुने विभिन्न अपराधिक क्रियाकलाप रोक्न प्रहरी र नागरिक दुबैको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन ।