२२ वर्षपछि कंकाल खोजेर दाहसंस्कार


कमल शर्मा
दैलेख : लगातार एक साता देखी झरी परिरहेको थियो । घरभित्र भने अस्वाभाविक सुनसान थियो । ६८ वर्षीय मानबहादुर बिष्ट र मोतिकला बिष्टको मनमा २२ वर्षअघि हराएको एउटै अनुहार थियो—आफ्नो जेठो छोरा बीरेन्द्रको । छोरा २२ वर्षअघि द्वन्द्वका क्रममा मारिनुभएको थियो । मृत्युको खबर परिवारसम्म पुगेको थियो । तर शव कहाँ गाडियो भन्ने यकिन थिएन । परिवारले अन्तिम संस्कार गर्न पाएका थिएनन् । त्यसयता मानबहादुर र मोतिकलाका लागि छोराको मृत्युको एउटा अध्याय अधुरै थियो । त्यही अधुरो अध्याय पूरा गर्न बीरेन्द्रका भाइहरू लगातारको झरीमा नौमुले गाउँपालिका–१, तोलीको जंगलछेउ पुग्नुभयो । हातमा कोदालो थियो । अगाडि २२ वर्षअघि पाँच जनाको शव गाडिएको भनिएको ठाउँ । उहाँहरुले माटो खन्न थाल्नुभयो ।
पानीले भिजेको माटो । हिलाम्मे बाटो जंगलको सुनसान वातावरण । २२ वर्ष पुरानो शवको खोजी आफैंमा कठिन थियो । तर उहाँहरु रोकिनुभएन । एक तह माटो हट्यो । फेरि अर्को तह । हरेकपटक कोदालो चल्दा उहाँहरूको आँखा खाल्डोतिरै हुन्थ्यो । दाजुको कुनै चिनो भेटिने आशामा अन्ततः माटोभित्र मानव अस्थिपञ्जर देखियो । केहीबेर सबै मौन भए । २२ वर्षपछि भेटिएको त्यो शरीरमा बीरेन्द्रको अनुहार थिएन । शरीरको स्वरूप पनि थिएन । समयले सबै मेटाइसकेको थियो । बाँकी थियो मानव कंकाल र त्यससँगै रहेको एउटा कपडा । त्यही कपडाले २२ वर्षपछि बीरेन्द्रलाई चिनायो । तत्कालीन समयमा बीरेन्द्रले लगाएको कपडासँग मिल्दो कपडा भेटिएपछि आफन्तले अस्थिपञ्जर बीरेन्द्रकै भएको पहिचान गरे ।
ठाटीकाँध गाउँपालिका–२, साविक लकान्द्र गाविस–५ का बीरेन्द्र तत्कालीन माओवादीमा ‘धिरेन्द्र’ नामले चिनिनुहन्थ्यो । परिवारका अनुसार उहाँ जनमुक्ति सेनाको सञ्चारमा काम गनुहुन्थ्यो । २०६१ असार १८ गते द्वन्द्वका क्रममा उहाँको मृत्यु भएको थियो । तत्कालीन द्धारी गाबिस हाल नौमुले तीन बाट कार्यक्रम सकेर तोली आएको बेला सेनाले भेटाउँदा दोहोरो भिडन्त भएको थियो । मृत्युपछि उहाँको शव नौमुले–१, तोलीको जंगलछेउमा अन्य चार जनासँगै एउटै चौतारोमा गाडिएको आफन्त बताउँछन् । पाँच जनामध्ये दुई महिला र तीन पुरुष रहेको उनीहरूको भनाइ छ ।
कंकाल भेटिएको खबर घर पुग्यो
२२ वर्षदेखि छोराको प्रतीक्षामा बस्नुभएका मानबहादुर र मोतिकलाका लागि त्यो खबरले पुराना सम्झना फेरि बल्झायो । छोरा भेटिएको खबर थियो, तर जीवित अवस्थामा होइन । २२ वर्षपछि घर फर्किएको थियो त छोराको अस्थिपञ्जर । घरमा मानिसहरू जम्मा भए । लामो समयदेखि सुनसानजस्तै रहेको घरमा चहलपहल भयो । तर त्यो खुसीको चहलपहल थिएन । २२ वर्षअघि पूरा हुन नसकेको अन्तिम संस्कारको तयारी थियो बीरेन्द्रका भान्जा दिनेशकुमार थापा पनि कंकाल खोज्न उत्खननस्थल पुग्नुभएको थियो । उहाँले भन्नुभयो मामाले तत्कालीन समयमा लगाएको कपडाबाट पहिचान गर्न सहज भयो । ‘तत्कालीन समयमा मामाले लगाएको कपडाबाट शव चिन्न सजिलो भयो, कपडा त जस्ताको तस्तै थियो,’ दिनेशले भन्नुभयो, ‘त्यही कपडामा रहेको मानव कंकाल ल्याएर हामीले दाहसंस्कार ग¥यौँ ।’ कंकाल घर ल्याइयो त्यही अनुसार कंकाललाई घर बाट उठायौँ । २२ वर्षअघि मृत्यु भएका जेठो छोरालाई अन्तिम बिदाइ गर्न नपाएका परिवारका लागि त्यो क्षण निकै भारी थियो । कंकाललाई दाई र अंकलले दागबत्ति दिनुभयो । २२ वर्षअघि देखी रोकिएको एउटा संस्कार पूरा हुँदै थियो । ६८ वर्षीय बुवा मानबहादुर र आमा मोतिकलाले जेठो छोरालाई बल्ल अन्तिम बिदाइ गर्न पाउँनुभयो । मृत्युको खबर सुनेको २२ वर्षपछि छोराको अन्तिम संस्कार आफ्नै आँखाअघि भयो । छोराको शव नपाउँदासम्म अधुरो रहेको संस्कार पूरा भयो ।
आफन्तका अनुसार त्यहाँ गाडिएका पाँच जनामध्ये दुई जनाको शव यसअघि निकालिसकिएको छ । एक जनाको शव वैशाखमा निकालिएको थियो भने अहिले बीरेन्द्रको कंकाल भेटिएको हो । ‘प्रकाश’ नाम गरेका एक जनाको शव भने अझै त्यहीँ रहेको दिनेशले बताउनुभयो । २२ वर्षपछि एउटा परिवारले आफ्नो मान्छेको अन्तिम संस्कार गर्न पाए पनि त्यो माटोले अर्को परिवारको पीडा अझै बोकेर बसेको छ । प्रकाश कहाँका हुनुहुन्थ्यो भन्ने जानकारी छैन । तर तोलीको त्यो माटो अझै एउटा परिवारको प्रतीक्षामा छ । लगातारको झरीमा सुरु भएको खोजी अन्ततः चिताको आगोसम्म पुग्यो । तत्कालीन समयमा संगै काम गरेका पार्टीका नेता र स्थानीयहरुको सहयोगमा स्थानीय उक्त शव ब्यवस्थापन गरिएको थियो । उनीहरुकै सहयोगमा नौमुले गाउँपालिका–१ तोलीको चौतारामा गाडिएका शवहरु उत्खनन गर्न सजिलो भएको आफन्तले बताएका छन ।

