Loading... आजः आइतवार, भदौ २८, २०८३
Trending

खोलामा बगेर तीन वर्षमा १५ जनाको मृत्यु

कमल शर्मा
दैलेख  :   दैलेखमा खोलामा बगेर ज्यान गुमाउने क्रम रोकिएको छैन । वर्षायाममा खोलामा आउने बाढी तथा भलका कारण वर्षेनी नागरिकले ज्यान गुमाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा मात्रै खोलामा बगेर १५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा तीन बालक, एक बालिका र तीन पुरुष गरी सात जनाको खोलामा बगेर मृत्यु भएको थियो । आर्थिक वर्ष २०८२÷०८३ मा एक महिला, एक पुरुष, चार बालक र एक बालिकासहित सात जनाले ज्यान गुमाएका थिए । चालु आर्थिक वर्ष २०८३÷०८४ मा समेत एक जना ३५ वर्षीया महिलाको खोलामा बगेर मृत्यु भइसकेको छ । तर प्रहरीको यो तथ्याङ्कमा खोलामा बगेर बेपत्ता भएका सबै व्यक्तिको विवरण समावेश छैन । त्यसैले खोलामा बगेर ज्यान गुमाउने तथा बेपत्ता हुनेको वास्तविक संख्या प्रहरीको तथ्याङ्कभन्दा बढी हुनसक्ने देखिन्छ ।
भदौ ९ गते दैलेख सदरमुकाम हुँदै भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडा बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–०१ ह १४८ नम्बरको अटोरिक्सा नाउली खोलामा रोकिएको थियो । सोही समयमा सोही बाटो हुँदै गएको ०२–००१ च ०९०७ नम्बरको बोलेरो जीपका चालक २८ वर्षीय टंकबहादुर मगरले आफ्नो गाडी खोला तार्नुका साथै अटोरिक्सालाई समेत खोला पार गराउन सहयोग गर्ने प्रयास गर्नुभयो । तर खोला धमिलो हुनुका साथै पानीको बहाव तीव्र रहेकाले अटोरिक्सासहित खोलामा पस्दा मगरलाई खोलाले बगाएर बेपत्ता बनायो । अटोरिक्सा चालक कमल परियार भने बल्लतल्ल ज्यान जोगाउन सफल हुनुभयो । स्थानीय र प्रहरीले निरन्तर खोजी गरे पनि मगर हालसम्म फेला पर्न सक्नुभएको छैन । त्यसैगरी भगवतीमाई गाउँपालिकामा केही दिनअघि भएको अर्को घटनामा आमा–छोरीलाई स्कुटरसहित खोलाले बगाएको थियो । बेस्तडा बजारबाट खोपतर्फ जाँदै गरेका भगवतीमाई गाउँपालिका–२ की ३८ वर्षीया ज्वाला शाही र उहाँकी १५ वर्षीया छोरीलाई ठाडो खोलामा आएको भलले बगाएको थियो । खोलाले बगाउँदा ज्वाला शाहीको घटनास्थलमै मृत्यु भयो भने उहाँकी छोरी घाइते हुनुभयो । घाइते छोरीको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।
त्यस्तै, गत शुक्रबार नौमुले गाउँपालिका–२ मासरका प्रेम खत्रीको पनि लोहोरे खोलामा आएको बाढीले बगाएर मृत्यु भयो। नौमुले बजारबाट घरतर्फ जाने क्रममा उनलाई खोलाले बगाएको स्थानीय कमल न्यौपानेले जानकारी दिनुभयो । खोलामा बगेपछि तत्काल खोजी तथा उद्धारको प्रयास गरिए पनि उनको ज्यान जोगाउन नसकिएको उहाँले बताउनुभयो । दैलेखमा वर्षायाममा खोलामा आउने बाढी तथा भलका कारण वर्षेनी नागरिकले ज्यान गुमाउने गरेका छन् । जिल्लाका विभिन्न स्थानमा पक्की तथा झोलुंगे पुल निर्माण भए पनि सबै जोखिमयुक्त स्थानमा सुरक्षित आवतजावतको व्यवस्था हुन सकेको छैन । कतिपय ठाउँमा पुल नहुँदा स्थानीयले खोला तर्नुपर्ने बाध्यता छ भने कतिपय स्थानमा सवारीसाधन खोला तार्ने क्रममा दुर्घटना हुने गरेका छन् ।
माथिल्लो क्षेत्रमा परेको वर्षाको पानी केही समयमै खोलामा जम्मा हुँदा स्थानीयले जोखिमको पूर्वानुमान गर्न नसक्दा दुर्घटना हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार खोलामा बगेर मृत्यु भएका तथा मुद्दा दर्ता भएका घटनाको विवरण प्रहरी अभिलेखमा राखिएको हुन्छ । तर खोलामा परेर बेपत्ता भएका सबै व्यक्तिको विवरण भने मृत्युको तथ्याङ्कमा समावेश हुँदैन । उहाँका अनुसार कर्णाली राजमार्गमा नुहाउने क्रममा बेपत्ता भएका तथा भदौ ९ गते अटोरिक्सा तार्ने क्रममा बेपत्ता भएका व्यक्तिको विवरणसमेत प्रहरीको उक्त तथ्याङ्कमा समावेश गरिएको छैन । उहाँहरुको खोजी गरेपनि अहिले सम्म भेटाउन सकिएको छैन । वर्षेनी खोलामा बगेर नागरिकको ज्यान जाने क्रम बढ्दै गए पनि जोखिमयुक्त खोलाको पहिचान गरी आवश्यक स्थानमा पुल निर्माण, वर्षायाममा जोखिमयुक्त क्षेत्रमा आवतजावत नियन्त्रण, पूर्वसूचना प्रणाली तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन ।