Loading... आजः शनिबार, असार २०, २०८३
Trending

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस


काठमाडौँ  :   संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी रहनुभएको छ । भण्डारी अर्को साता ६५ वर्षे उमेरहदका कारण अवकाश पाउन लाग्नुभएकाले परिषद्ले नयाँ नेतृत्व सिफारिस गरेको हो ।

बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डा राजीव सुब्बा र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार साँझका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको थियो ।
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । परिषद्‍बाट सिफारिस भएका नाम संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान रहेको छ ।