चेकपोस्टमा यात्रु अभिलेख नहुँदा यात्रु संख्या अन्योलमा


कमल शर्मा
दैलेख : सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब पाँच सय मिटर तल कर्णाली नदीमा खसेपछि बेपत्ता भएको छ । राजमार्गका चेकपोस्टमा यात्रुको अभिलेख नराखिएकाले गाडीमा कति जना सवार थिए र दुर्घटनामा कति जना परेका छन् भन्ने यकिन गर्न सुरक्षानिकायलाई कठिन भएको बताइएको छ ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त टोलीले उद्धार तथा खोजी कार्य गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार दुर्घटनामा परी घाइते हुनुभएका एक जना वृद्धलाई जीवित उद्धार गरी उपचारका लागि दुल्लु अस्पताल पठाइएको थियो । उपचारका क्रममा अस्पतालले उहाँलाई मृत घोषणा गरेको छ ।
मृतकको पहिचान कालिकोटको पचालझरना गाउँपालिका–९ का जोखे तिरुवाका रूपमा भएको छ । पचालझरना गाउँपालिका–९ का वडाध्यक्ष ललिजङ्ग शाहीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरका आधारमा उहाँको पहिचान भएको हो । उहाँले जोखे तिरुवासँगै मेगे तिरुवा पनि गाडीमा सवार रहेको जानकारी प्राप्त भए पनि उहाँको अवस्था अझै अज्ञात रहेको बताउनुभयो । मृतकका छोरा दिनेश तिरुवा र परिवारका सदस्य दुल्लु अस्पताल तर्फ हिडेको जानकारी दिनुभयो ।
स्थानीयवासीबाट दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी पाल्तडा र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ३५ जना प्रहरी र शसस्त्र पहरी २४ परिचालन गरिएको छ । सुर्खेतमा रहेको सशस्त्र प्रहरी बलको महेश्वरी बाहिनीबाट छ जना गोताखोरसहितको टोली पनि घटनास्थलमा पुगेको छ । महेश्वरी बाहिनीका बाहीनीपती डिआइजी कृष्णराज पाठकको नेतृत्वमा गोताखोरले नदीमा खोजी गरिरहेका छन् । तर तीव्र बहाव र धमिलो पानीका कारण गाडी तथा अन्य यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
घटनास्थल पुग्नुभएका चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ का वडाध्यक्ष प्रेमबहादुर रावलले सात जनाले टिकट काटेको भन्ने जानकारी प्राप्त भएको बताउनुभयो। तर पाल्तडास्थित एक होटलमा करिब १० जनाका लागि खाना तयार गर्न अर्डर गरिएको जानकारी होटल सञ्चालकले दिएको भन्दै गाडीमा टिकट काटेकाभन्दा बढी यात्रु रहेको हुन सक्ने अनुमान गर्नुभयो । उहाँका अनुसार राजमार्गबाट गाडी खसेको स्थान देखिए पनि नदीमा गाडी देखिएको छैन ।
रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले दुर्घटनापछि नगरपालिकाका सबै वडा अध्यक्षलाई सम्पर्क गरी गाउँ–गाउँमा सूचना पठाइएको बताउनुभयो । उहाँका अनुसार वडास्तरबाट गाडीमा सवार हुन सक्ने व्यक्तिको विवरण संकलनका लागी सुर्खेतमा रहेका आफन्त तथा परिवारलाई सम्पर्क गरी खोजी गर्ने गर्ने काम भइरहेको छ । रास्कोट नगरपालिका–२ की सिर्जना खड्का पनि गाडीमा सवार रहेको सूचना प्राप्त भएपछि उहाँका आफन्तलाई घटनास्थल पठाइएको नगर प्रमुख शाहीले जानकारी दिनुभयो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले राजमार्गका चेकपोस्टमा यात्रुको विवरण व्यवस्थित रूपमा अभिलेख नराखिँदा दुर्घटनापछि यात्रुको संख्या यकिन गर्न समस्या भएको बताउनुभयो । उहाँका अनुसार सुर्खेत बसपार्कबाट तीन जना यात्रु चढेको विवरण प्राप्त भए पनि बाङ्गेशिमल, तल्लोडुङ्गेश्वरलगायत बाटोका अन्य स्थानबाट कति जना चढे भन्ने कुनै अभिलेख उपलब्ध छैन । उहाँले भन्नुभयो, “प्रत्येक चेकपोस्टमा सार्वजनिक सवारीमा सवार यात्रुको विवरण राख्ने बिगतको अभ्यासलाई गाडीधनी र अन्य नागरिकले सास्ती खेप्नु परेको भनेर बिरोध गरेपछि हटाइएको भएपनि अहिले त्यसको महसुष भएको बताउनुभयो । त्यसैको परिणामस्वरूप अहिले गाडीमा कति जना थिए भन्ने यकिन गर्न सकिएको छैन । यसले उद्धार, खोजी र यात्रुको पहिचानमा कठिनाइ थपिएको छ।“
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतमका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोताखोर टोली र स्थानीयवासीले संयुक्त रूपमा खोजी कार्यलाई निरन्तरता दिएका छन्। कर्णाली नदीको बहाव र धमिलो पानीका कारण गाडी भेटिन नसके पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

