चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश

सुर्खेत : इनिसा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकहरुलाई पूर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । मंगलबार सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले चारै जना नाबालकहरुलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन भनेको हो ।
अदालतका सूचना अधिकारी उज्वल रावलले हाललाई पूर्पक्षका लागि सुधार गृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो सबै साक्षीहरूको बयान र प्रमाणहरूको अध्ययन गरिसकेपछि मात्र यस मुद्दामा अन्तिम ठहर हुनेछ ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आउनुभएको थियो । फागुन २३ गते शनिबार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उहाँ बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिनुभएको थियो ।
प्रहरीले उहाँलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो । भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्तीकरणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताएको थियो ।
इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाको नाममा निवेदन दिए । प्रहरीले ती तीन जना नाबालकलाई सोही दिन पक्राउ गर्यो । उनीहरू पनि सबै नाबालक नै थिए ।
चैत्र ११ गते प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा इनिसामाथि सामूहिक नभई एकल करणी भएको निष्कर्षसहित पठाएको थियो । इनिसाका प्रेमी भनिएका १६ वर्षीय नाबालकले सहमतिमै यौन सम्बन्ध राखेको र उनी एक्कासि बेहोस भएको बयान दिएका थिए । पछि अस्पताल लैजान सहयोगका लागि आफ्ना साथीहरुलाई बोलाएको बताएका छन् । तर आइतबार सरकारी वकिल कार्यालयले योजनाबद्ध तरिकाले सामूहिक बलात्कार भएको भन्दै चारै जनाविरुद्ध मुद्दा अघि बढाउन अभियोग पत्र अदालतमा दायर गर्यो ।
अदालतले पनि मंगलबार चारै जना नाबालकलाई पूर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश जारी गरेको छ ।


