Loading... आजः सोमवार, माघ २७, २०८२
Trending

संसद दोहोरिने र नयाँ प्रवेशबीचको प्रतिस्पर्धा

..

दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दैलेख निर्वाचन क्षेत्र नं. १ मा संसद दोहोर्याउन चाहने र नयाँ प्रवेश गर्न खोज्ने उम्मेदवारबीच रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा कुनै पनि दलको चुनावी गठबन्धन नभएका कारण पनि निर्वाचन प्रतिष्पर्धा रोचक हुने भएको छ ।
दैलेख निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाल)ेबाट उम्मेदवार बन्नुभएका रबिन्द्रराज शर्मा यसअघि २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भइसक्नुभएको नेता हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस,एकिकृत समाजबादी, माआबोदी केन्द्रको गठबन्धनको बलमा मैदानमा उत्रिएका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका शर्मा यसपटक संसद दोहोर्याउने दाउँमा पुनः चुनावी मैदानमा उत्रिनु भएको छ । एमालेले जनमत बलियो भएकै कारण उहाँलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्नुभएका अम्मर बहादुर थापा संसदीय क्षेत्रमा अनुभवी रहुनुभएको छ । थापा २०७० सालको संविधानसभा सदस्य निर्वाचन, २०७४ सालमा भएको प्रदेश सभा सदस्य निर्वाचन, २०७९सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको समर्थनमा विजयी भइसक्नुभएको थियो । यसपटक भने थापा गठबन्धनबिनै प्रतिस्पर्धामा उत्रिँदा उहाँलाई चुनौती थपिएको छ । एमालेले मन्त्री नबनाएको निहुँमा प्रदेश सभामा फलोरक्रस गर्नुभएका थापा माओबादी केन्द्र र एकिकृृत समाजबादीको एकिकरण पछि नेपाली कम्युनिष्ट पार्टी बाट उम्मेदवार बन्नुभएको छ । २०६४ साल यताका निर्वाचनमा माओबादी केन्द्रले पराजय भोग्दै आएको भएपनि यस पटक आफु निर्वाचन जित्ने दावी उहाँले गर्नुभएको छ ।
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचन देखी आफ्नै उम्मेदवार नपाएको नेपाली काँग्रेसले यस निर्वाचनमा आफ्नै पार्टीबाट उम्मेदवार पाएको छ । युवानेत्री बसना थापालाई उम्मेदवार बनाएको काँग्रेसले २०६४ सालको बिरासत फर्काउने अभियानमा लागेको छ । दश वर्षपछि आफ्नै निर्वाचन चिन्हसहित चुनावी मैदानमा उत्रिएको काँग्रेसका लागि बसना थापाको उम्मेदवारीलाई संगठन पुनर्जीवन र नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा उभ्याएको छ । काँग्रेसले निर्वाचन जितेको खण्डमा उहाँ संसदमा यात्रा गर्ने दैलेख बाट पहिलो निर्वाचित महिला सासद हुने सौभाग्य प्राप्त गर्नुहुनेछ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नन्दकिशोर बस्नेत पनि चुनावी प्रतिस्पर्धीका रूपमा उदानुभएको छ । । वैकल्पिक राजनीतिप्रति बढ्दो आकर्षणका कारण बस्नेतले मत विभाजनमा भूमिका खेल्न सक्ने अनुमान गरिएको छ । नेकपा एमाले,काँग्रेस,नेपाली कम्युनिष्ट पार्टी संग रिसाएका जनताको मन जितेर संसदीय यात्रा गर्ने सोचमा उहाँ रहनुभएको छ । उहाँ औद्योगिक ब्यबस्थापन लिमिटेडमा दुई कार्यकाल जीएम भइसक्नुभएको छ । स्थानीय तहमा देखिएको राजनीतिक गतिविधि र मतदातासँगको संवादले यस निर्वाचन क्षेत्रमा स्पष्ट बहुकोणीय प्रतिस्पर्धा हुने संकेत गरेको छ । नयाँ पुस्ताको प्रतिनिधित्व र वैकल्पिक शक्तिबीचको यो टक्करले दैलेख निर्वाचन क्षेत्र नं. १ को चुनावलाई चासोपूर्ण हेरिएको छ । अब मतदाताले संसद दोहोर्याउने अनुभवी प्रतिनिधि रोज्ने हुन् कि नयाँ विकल्पलाई मौका दिने भन्ने निर्णय फागुन २१ गते स्पष्ट हुनेछ ।