नसर्ने रोग सम्बन्धी सडक नाटक प्रदर्शन


दैलेख : खानपिन, रहनसहन, बंशानुगत वा यस्तै कारणले बालबालिकाहरुलाई समेत नसर्ने रोगले प्रभावित गर्ने गरेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सरुवा रोग जस्तो नसरे पनि नसर्ने रोग लागेको व्यक्तिले स्वास्थ्य सावधानी कसरी अपनाउने भन्ने विषयमा दैलेख सदरमुकाममा नसर्ने रोग सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।
नारायण नगरपालिका र सोसेक नेपालको आयोजनामा भएको सडक नाटक आरङ्ग नेपाल सुर्खेतका कलाकार टोलीले छहारे रोगको समस्या भोगेका बालकलाई धामी झाँक्री बोलाएर बोका, कुखुरा बली दिने लगायतका खर्चिलो अन्धविश्वासमा अल्झेर समय बिताउने तर स्वास्थ्य संस्थामा लैजान बेवास्ता भएको दृश्य सडक नाटकमा देखाइएको थियो ।
बालकलाई देखिएको छहारे रोगको उपचारमा परिवारजनले झारफुक गर्दै समय बिताएको देखेका शिक्षक र समाजका अगुवाहरुलाई सम्झाईबुझाई गरिसकेपछि स्वास्थ्य संस्था लैजान तयार भएको विषयसंगै सरकारले उपलब्ध गराएको स्वास्थ्य वीमा सेवा लगायतका सरकारी सेवा सुविधा उपलब्धताको शिक्षा सडक नाटकमा अभिनयबाट प्रष्ट्याइएको थियो ।
आरङ्ग नेपाल सुर्खेतका कलाकारहरु प्रेमदेव गिरी, गणेश गौतम, यामनारायण आचार्य, निर्मल प्याकुरेल, बेदन थापा, भूमिका परियार, रुबी पन्त र अप्सन पन्तले प्रहसनसंगै सन्देश दिनुभएको थियो । नसर्ने रोग न्यूनीकरणमा स्वास्थ्य सावधानी बारे सजग हुन नारायाण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले दर्शकहरुलाई आग्रह गर्नुभयो ।साभार पहरेदार

