Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

ताराघाट–कासिकाँध सडक निर्माणमा ढिलासुस्ती

कमल शर्मा
दैलेख :  माघ १९ गते । निर्माण ब्यबसायीको ढिलासुस्तीका कारण ताराघाँट कासिकाँध सडक निर्माणमा ढिलासुस्ती भएको छ । २०८२ भदौ ८ गते सकिने गरी २०७९ साउन ९ गते पन्त आकृति जेभि निर्माण सेवा गुल्मीले छ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का लिएको सडकको प्रगती २३ प्रतिशत मात्र रहेको पूर्वाधार विकास कार्यालय दैलेखले जानकारी दिएको छ । बहुवर्षिय योजना अन्र्तगत बन्दै गरेको ताराघाँट,खरिगैरा रानीवन कासिकाँध सडक खण्डको पहिलो चरणमा ६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी उक्त निर्माण कम्पनीले १६ करोड १४ लाख ८८ हजार ९८४ रुपियाँ ९९ पैसामा ठेक्का सम्झौता गरेको थियो ।
पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख ई पदम प्रसाद देवकोटाले सडक निर्माणमा भएको ढिलासुस्ती बारेमा आफुले स्थलगत गएर निरीक्षण गरेको र काम छिटो गर्न निर्माण कम्पनीलाई ताकेता गरेको बताए । उनले सडक गुणस्तरीय बनाउन समेत त्यहाका जनप्रतिनिधि र निर्माण कम्पनी दुबैलाई राखेर आवश्यक समन्वय र सहजीकरण गरिएको बताए । उनले भने स्थानीयले योजनामा निर्माण गरिएका विभिन्न वाल र तारजालीमा गुणस्तर कम भएको भनेपछि अनुगमन गरी बिग्रेको स्थानमा बनाउन समेत निर्देशन दिएका छौँ ।

सडक निर्माण कम्पनी पन्त आकृति जेभी गुल्मीका सव इन्जिनिएर धनश्याम भण्डारीले ताराघाट देखी कासिकाँध जाने सडक बहुवर्षिय भएको र पहिलो चरण सडक निर्माण संगै ६ किलिमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौता बमोजीम निर्माणको काम भइरहेको बताए । उनले सडक निर्माणको काम गर्दा पेटि ठेकेदारलाई दिएको र पेटिठेकेदार नै भाग्ने समस्याले काममा ढिलाइ भएको बताए । उनले निर्माण कम्पनीले सबै समान दिएर पेटिठेकेदारलाई काम दिएका थियौँ सबै भागेपछि केही समय ढिला भएको हो अव चाँडै सक्ने गरी अगाडी बढ्छौँ ।

महावु गाउँपालिकाका प्रवत्ता एवम वडा नः २ का वडाध्यक्ष प्रकाश थापाले ताराघाँट कासिकाँध सडक निर्माणमा निर्माण कम्पनीको लापारबाहीले काम ढिला भएको बताए । उनले स्थानीय नागरिकको कुनै पनि बिरोध नभएको सडकमा विभिन्न बाहनामा निर्माण कम्पनीले भाग्ने र काम नगर्ने समस्या रहेको बताए । उनले निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय दुबै पक्षलाई राखेर कामलाई तिब्रता दिन तोकता गरेका छौँ अवको समयवधि भित्र निर्माण हुनेमा आशंका छ । ताराघाट कासिकाँध सडक निर्माण निर्माणका लागी पहिलो चरण २४ करोडको बोलपत्र आह्वान गरेपनि निर्माण कम्पनीले १६ करोड १४ लाख ८८ हजार ९८४मा सम्झौता र फेरी यति ठुलो बजेट यो योजनामा नपर्ने भएका कारण कामलाई तत्काल सक्न आफुहरुले ताकेता गरेको अध्यक्ष थापाको भनाइछ ।

सम्झौता सकिन सात महिना बाँकी रहदा समेत निर्माण कार्यले गति लिन नसकेको भन्दै स्थानीयले निर्माण कम्पनीलाई ताकेता गर्दा समेत वेवास्ता गरिएको स्थानीयले बताएका छन । महावु गाउँपालिका–२ का अम्मर बहादुर थापाले सडक निर्माण गर्ने कम्पनीले निर्माण गर्दा सामान्य समेत मापदण्ड पुरा नगर्दा यात्रा गर्ने यात्रुहरुले धुलो खानु परेको बताए उनले निर्माण कम्पनीले सडक बनाउँदा धुलो मार्ने समेत पैसा पाउँछन तर ठेकेदारले अहिले सम्म धुलो मार्न पानी प्रयोग गरेको पाइदैन । कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास कार्यालय दैलेख बाट संचालीत आयोजना ताराघाट,खरिगैरा,गैडावाज,रानीवन टाकुरी कासिकाँध सडक निर्माण आयोजनाको काम भइरहेको छ ।