विधेयकमा समावेश प्रावधानप्रति पत्रकार महासङ्घ असहमत
काठमाडौँ : सरकारले सङ्घीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले असहमति जनाएको छ ।
महासङ्घले भनेको छ, ुअगुवा नागरिक संस्था महासङ्घलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकामा महासङ्घ गम्भीर असहमति गर्दछ ।
महासङ्घले आज विज्ञप्ति जारी गरी सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्यमान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन नेपाल सरकार र सङ्घीय संसद्सँग आग्रहसमेत गरेको छ ।