Loading... आजः सोमवार, बैशाख १७, २०८१
Trending

महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता विकास प्रशिक्षण

दैलेख :  स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूका लागी नेतृत्व क्षमता विकास अभिवृद्धि तालीम सञ्चालन गरिएको छ । जिल्लाको डुगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाका महिला जनप्रतिनिधिलाई उक्त तालीम प्रदान गरिएको हो । टेवा टिमको आर्थिक सहयोगमा शान्तिका लागी साझा अभियान नेपालको सहकार्यमा महिला सशक्तीकरण मञ्च नेपालको आयोजनामा जिल्लाका दुई पालिकाका महिला जनप्रतिनिधिहरूको नेतृत्व क्षमता विकास प्रशिक्षण गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४मा स्थानीय सरकारका जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिकाका सदस्यहरूको काम, कर्तव्य र अधिकारहरू, नेतृत्व विकास, सङ्घीयता, मानव अधिकार र विभिन्न तहका सरकारका अधिकारहरू र संवैधानिक व्यवस्था, महिला नेतृत्व विकासका आधारभूत सिपहरू लगायत विभिन्न कानुनी व्यवस्थाहरू, सूचना सम्बन्धी हक अधिकार विषयमा महिला जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यले उक्त तालीमको आयोजना गरिएको महिला सशक्तीकरण मञ्च नेपालले जानकारी दिएको छ ।

महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले स्थानीय तहमा निर्वाचित भएका महिलाहरूले आफ्ना अधिकार,काम कर्तव्यका विषमा जानकारी दिने र उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन । उनले महिलाहरू कार्यपालिका र वडा पालिकामा केवल साक्षीको रूपमा मात्र नभएर साँच्चिकै नेतृत्व लिन सक्ने गरी उहाँहरूको क्षमता विकास गर्न लागिएको बताइन ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संविधानले व्यवस्था गरे बमोजिम महिलाहरू निर्वाचित भए पनि आफ्नो नेतृत्व विकास नगरेका कारण पार्टीले समेत प्रमुख पदमा उम्मेदवार नबनाउने समस्या रहेको बताए । उनले कतिपय स्थानीय तहमा महिलालाई उम्मेदवार बनाउँदा नसोधेरै वा बस्नै पर्छ जस्ता बाध्यकारी नियम लगाएका कारण महिलाहरू निर्वाचनमा लडेको स्मरण गर्दै आगामी दिनमा महिलाहरू नेतृत्वका लागी आफै अगाडी बढ्नु पर्ने बताए । उनले जिल्लाका ११ पालिकामा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकासका लागी स्थानीय सरकारले समेत चासो दिनु पर्ने बताए । उनले भने महिला जनप्रतिनिधिको नेतृत्व क्षमता विकास गर्नका लागि सम्बन्धित पालिकाले निर्वाचित बजेट विनियोजन गर्नु पर्ने हुन्छ ।

गैरसरकारी संस्था महासङ्घ दैलेखका अध्यक्ष महारूप खत्रीले निर्वाचित महिला जनप्रतिनिधिले साझा भएर जनताको सेवा दिनु पर्ने बताए । उनले निर्वाचनमा उम्मेदवार हुँदा कुनै पार्टी भए पनि निर्वाचित भएपछि सबैको साझा बन्न सक्नु पर्ने बताए । उनले भने स्थानीय तहमा रहेका न्यायिक समितिले न्याय सम्पादन गर्दा राजनीतिक गन्ध नआउने गरी काम गर्नु पर्ने हुन्छ ।
गुराँस गाउँपालिकाका अध्यक्ष शिवा कुमारी खड्काले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूको क्षमता विकास सँगै उनीहरूलाई आफ्नो काम कर्तव्य र अधिकारका विषयमा जानकारी प्राप्त गर्नु राम्रो भएको बताइन । उनले महिला सशक्तीकरण मञ्च नेपालको सहयोगमा न्यायिक समितिलाई समेत क्षमता विकास तालीम दिएपछि न्याय सम्पादन गर्न समेत सहज भएको बताइन । तालीमको सहजीकरण अधिबत्ता बालमुकुन्द घिमिरे र बिन्द्रा महर्जनले गरेका थिए ।