Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

आगोमा परी राउटे युवा घाइते

दैलेख  :  राउटे समुदायका एक युवा आगोमा जलेर घाइते हुनुभएको छ । मङ्गलवार राति सुतेकै बेलामा ओढेको बल्यांकेटमा आगो सल्किएर ४० वर्षीय नारायण शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले राति दाउरा बालेरै सुतेको र त्यही आगो बल्यांकेटमा सल्किएर शरीरमा आगो लागेको खुल्न आएको बताए ।

राउटे बस्तीमा राउटे परियोजनामार्फत खटिएका शिक्षक लालबहादुर खत्रीका अनुसार अगेनो नजिक सुतेका ४० वर्षीय नारायण शाही आगोले जलेर गम्भीर घाइते भएको बताए । उनले राति दाउरा बालेरै सुतेको र त्यही आगो बल्यांकेटमा सल्किएर शरीरमा आगो लाग्दा कम्मर माथिको भाग जलेको बताए । उनले भने आगो लागेर घाइते भएका नारायण शाही सँगै अन्य तीन जना सुतेको अन्य भने सकुशल रहेका छन् ।

आगोमा जलेर घाइते हुनुभएका शाहीलाई उद्धार गरी उपचारका लागि दैलेख जिल्ला अस्पताल ल्याइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर धर्म रेग्मीले घाइते राउटेको जिल्ला अस्पतालमा सामान्य उपचार पछि प्रदेश अस्पताल सुर्खेत रिफर गर्न लागिएको बताए । उनले शरीरको ३० प्रतिशत भन्दा बढी भाग आगोले जलेको र बिरामीलाई आइसियुमा राख्नु पर्ने र अलग्गै कोठा राखेर उपचार गर्नु पर्ने अवस्था भएका कारण रिफर गरिएको बताए ।

कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका –८ साल खर्कमा बसोबास गरिरहेका छन् । हाल उनीहरूको जनसङ्ख्या एक सय ४३ रहेको छ ।