Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

राउटेको जीवन रक्षा गर्न मानवअधिकार आयोगको आग्रह

फोटो साभार हिक्मत नेपाली

दैलेख  :  जङ्गलमा फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटेहरुको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । राउटेको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र जीवनको रक्षा गर्न नेपाल सरकारलाई आग्रह गरेको हो । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख लेखनाथ बास्तोलाले राउटेको जीवन रक्षाका लागि स्वास्थ्य, सरसफाइ र शिक्षा र पौष्टिक खानामा विशेष ख्याल गर्नुपर्ने बताए । उनले भने राउटे नागरिकहरूमा सर सफाइको अवस्था नाजुक छ, मदिराको प्रयोग अत्यधिक छ सर सफाइका लागि राउटे नागरिकहरूलाई सचेतना जरुरी छ, मदिराको प्रयोगलाई तत्काल रोक्नुपर्छ ।

राष्ट्रिय मानव अधिकार आयोग,सोसेक नेपाल र काठमाडौँ विश्वविद्यालयले लोपोन्मुख राउटे समुदायको अनुसन्धान गरिरहेको र त्यसैको सिलसिलामा राउटे बस्तीमा पुगेका बास्तोला उनीहरूको जीवन रक्षा नगरेको खण्डमा राउटे समुदाय नै लोप हुने खतरामा रहेको बताए । मदिराको अत्यधिक प्रयोग रोक्न नसके राउटेको अस्तित्व नै सखाप हुनसक्ने खतरा बढेको उहाँको भनाई छ । राउटे समुदायको अस्तित्व केवल इतिहासमा मात्र सीमित रहने अवस्थालाई ख्याल गरेर तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने आयोगको भनाइ रहेको छ । नेपाल सरकार वा कर्णाली प्रदेश सरकारले राउटेहरूको जीवन रक्षा गर्न आवश्यक कानुन निर्माण गरेर कार्यान्वयन गर्नु पर्ने प्रमुख बास्तोलाले बताए । उनले भने राउटे चिसोको समयमा राउटे नागरिकहरूलाई न्यानो कपडाको व्यवस्थापन गरिनुपर्ने छ ।

टोलीमा आयोगका मानव अधिकार अधिकृत किरणकुमार बराम र सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा लगायतले बस्तीको अनुगमन गरेका थिए । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका –८ साल खर्क र भगवती माई गाउँपालिकाको हुलकटाकुरामा गरि दुई स्थानमा बसोबास गरिरहेका छन् । हाल उनीहरूको जनसङ्ख्या एक सय ४३ जना छ ।