Loading... आजः मङ्लबार, जेष्ठ १, २०८१
Trending

घरदैलोमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै स्थानीय सरकार


कमल शर्मा 

दैलेख    : स्थानीय सरकारले नागरिकको मत जित्न घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेका छन् । जिल्लामा रहका ११ स्थानीय सरकार मध्ये तीन वटा गाउँपालिकाले बैक सँगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेका छन् । जिल्लाको गुराँस गाउँपालिका, महावु गाउँपालिका र नौमुले गाउँपालिकाले प्रत्येक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हुन । जिल्लाको गुराँस गाउँपालिकाले ज्येष्ठ नागरिक,एकल महिला, अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको थियो । गाउँपालिकाको केन्द्र रानीमत्तामा रहेको बैकमा दिनभरी सेवा लिन जाँदा जेष्ठनागकिरलाई चिसोको समस्या हुने भए पछि वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

गुराँस गाउँपालिका–८ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले स्थानीय सरकार घर आँगनको सरकार भएका कारण गाउँमै नागरिकलाई सरल र सहज रूपमा सेवा दिन गाउँपालिका लागी परेको बताए । उनले स्थानीय निर्वाचनको बेला जनताको बिचमा गरिएको प्रतिबद्धता अनुसार आफूहरूले सेवा प्रवाह सुरु गरेको र त्यसैका आधारमा बैक सँगको सहकार्यमा वडा कार्यालय बाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए ।
गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमै गएर सुरु गरेको एक महिना पछि महावु गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता वडा कार्यालय मार्फत वितरण गर्न सुरु गरेको थियो । गाउँपालिकामा रहेका जेष्ठनागरिक,एकल महिला,अपाङ्गता भएका नागरिकलाई बैकमा लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएको गुनासो आएपछि पालिकाले बैकको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमा गएर वितरण गर्ने गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

महावु गाउँपालिकाकी उपाध्यक्ष मञ्जु कुमारी पाण्डेले सामाजिक सुरक्षा भत्ता दुरुपयोग नहोस् भनेर बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरे पनि टाढा टाढाका जेष्ठनागरिक,एकल महिला,अपाङ्गता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न कठिनाइ भएपछि बैक सँगको सहकार्यमा वडा कार्यालयमा गएर सामाजिक सुरक्षा प्रदान गरिएको बताइन ।उनले भनिन बैङ्कमा सेवाग्राहीको चाप, भौगोलिक विकटता, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी वडा स्तरमै भत्ता दिने व्यवस्था गरेका हौँ ।

त्यस्तै जिल्लाको नौमुले गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता वडा कार्यालय मार्फत नै वितरण गर्न सुरु गरेको छ । नौमुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसम बहादुर बुढाले कार्यपालिकाको बैठकमा सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गर्ने निर्णय अनुसार बैक सँगको सहकार्यमा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताए । उनँले गाउँपालिकाको आठ वटै वडामा बैकका प्रतिनिधि र कर्मचारीको सहयोगमा सामाजिक सुरक्षा भत्ता वितरण तयारी गरेका छौ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्दा रकम हिनामिना हुने गरेपछि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरण बैक मार्फत गर्ने निर्णय भए पनि जेष्ठनागरिकहरू,वडाका जनप्रतिनिधि र कर्मचारीलाई मन्जुरीनामा दिएपछि बैङ्कसँगको सहकार्यमा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्थानीय सरकारले बताएका छन् । ज्येष्ठ नागरिक,एकल महिला, अपाङ्गता भएका नागरिक भने वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा भने खुसी भएका छन् ।