Loading... आजः सोमवार, माघ २७, २०८२
Trending

निर्वाचनलाई लक्षित मदिरा नियन्त्रण गर्दै प्रहरी

दैलेख  : आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रहरीले मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । जिल्लाका ११ स्थानीय तहमा रहेका बजार केन्द्रहरूमा प्रहरीले मदिरा उत्पादन तथा बिक्री वितरण रोक्न अभियान चलाएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) भुवनेश्वर प्रसाद साहले निर्वाचनलाई स्वच्छ र शान्त वातावरणमा सम्पन्न गर्नका लागि उक्त अभियान सञ्चालन गरेको बताए । उनले मतदातालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रलोभनमध्ये मदिरा सेवन गराउने र त्यसले स्वयम व्यक्ति समुदायलाई समेत खलबल्याउने भएका कारण नियन्त्रणका लागि प्रहरी खटेको बताए । उनले भने विगतका निर्वाचनहरूमा मतदान स्थलमा मदिरा सेवन गर्ने र आएर होहल्ला गर्ने भएका कारण यो वर्ष पुर्णरुपमा निषेधित गर्न लागेका छौ ।

 

मुख्यता मदिराबाटै झगडा हुने, विवाद हुने पछि राजनीति रूप लिई अशान्ति हुने भएकाले मदिरा नियन्त्रण गर्न बजार केन्द्रमा रहेका टोल टोलमा म्यादी प्रहरी समेत परिचालन गरिएको बताइएको छ । प्रहरी प्रमुख साहले भने चुनाव हुनु हप्ता दिन अघिबाट निर्णय गरेरै मदिरा निषेधित क्षेत्र घोषणा गछौं । कतै बिक्री वितरण गरेको पाइएमा जफत गरेर बिक्री गर्ने विरुद्ध कानुन बमोजिम कारबाही अगाडी बढ्छ । प्रहरीले बिशेष गरी सबै पालिकाका सदरमुकामका बजार बाट अवैध घरेलु मदिरा नियन्त्रण गरी नष्ट गरेको छ ।

नागरिक समाजका अगुवाहरूले समेत निर्वाचनको बेला मदिरा सेवन गराउने र आफ्नो पक्षमा मतदान गर्न लगाउने कार्य नगर्न राजनैतिक दल र तीनका नेता तथा कार्यकर्तालाई समेत आग्रह गरेका थिए । प्रहरीले मदिरा नियन्त्रणका अभियान सुरु गरेदेखी एक हजार लिटर मदिरा नष्ट र मदिरा उत्पादन गर्ने भाडाँ तथा अन्य कच्चा पदार्थ नष्ट गरेको छ ।