प्रमुख पदमा दलित उम्मेदवार न्यून
दैलेख : संविधानको बाध्यकारी व्यवस्था छ, वडा सदस्यमा दलित उम्मेदवार अनिवार्य । त्यही संवैधानिक व्यवस्थामा टेकेर दलहरूले दलित प्रतिनिधित्व गराउनैपर्छ । तर, गाउँपालिका र नगरपालिकाका प्रमुख पदहरूमा दलित समूदायका उम्मेदवार न्यून छन् । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिस्पर्धी उम्मेदवारहरुको सूची हेर्दा प्रमुख पदमा दलित समुदायको प्रतिनीधित्व निराशाजनक देखिन्छ ।
जिल्लामा केही दलहरूले देखाउनका लागि मात्र नगण्य संख्यामा उम्मेदवार बनाएका छन् । दलहरूले जित्ने सम्भावना कम भएको, कमजोर मानिएको स्थानमा मात्र दलितलाई उम्मेदवार बनाएको गुनासो दलित अधिकारकर्मीहरूको छ । दलित समुदायलाई निर्वाचनमा आकर्षित गर्न सरकारी आरक्षण मात्र नभई राजनीतिक दलहरुले प्राथमिकता दिनुपर्ने अधिकारकर्मी बताउँछन् ।
११ स्थानीय तह रहेको दैलेखमा नेकपा एमालेले एउटा स्थानीय तहमा मात्र प्रमुखमा उम्मेदवार बनाएको छ । एमालेले नौमूले गाउँपालिकाको अध्यक्षमा शसिराम विश्वकर्मालाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले जिल्लाका ११ वटै तहको प्रमुख पदमा दलित समुदायबाट उम्मेदवार बनाउन सकेनन् । नेपाल मजदुर किसान पार्टीले दुल्लु नगरपालिकामा लक्ष्मी कुमार विकलाई मेयरको उम्मेदवार बनाएको छ ।
आठबीस नगरपालिकाको मेयरमा उदयराम विश्वकर्मा स्वतन्त्र उम्मेदवार हुन् । जिल्लामा ११ जना प्रमुख पदमा ६३ जनाको उम्मेदवारी परेको छ ।
नेकपा एमाले र नेपाली काँग्रेसले ११ वटै तहमा दलित उम्मेदवार शुन्य छ । नेकपा (माओवादी केन्द्र) ले डुङ्गेश्वर गाउँपालिकाको उपाध्यक्षमा कृष्णा शाही विकलाई र भगवतीमाई गाउँपालिकाको उपाध्यक्षमा मनिषा सोनी विकलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा उम्मेदवार बनेकी उनलाई पनि पार्टी बाट दवाव आएपछि उनले उम्मेदवारी फिर्ता लिदै नेपाली काँग्रेस बाट उपाध्यक्षको उम्मेदवार रहेकी एलिजा थापालाई सर्मथन गरेकी छिन ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले दुल्लु नगरपालिकाको उपप्रमुखमा खजुरा सुजीलाई उम्मेदवार बनाएको छ । आठबीस नगरपालिकाको उपमेयरमा सन्दिप कुमार विक स्वतन्त्र उम्मेदवार हुन् । गुराँस गाउँपालिकामा सम्झना कुमारी विक उपाध्यक्षको स्वतन्त्र उम्मेदवार हुन् ।
९० वटा वडा रहेको दैलेखमा दलहरुबाट वडाध्यक्षको उम्मेदवार समेत न्यून संख्यामा छन् । नेकपा एमालेले ३ वटा वडाको वडाध्यक्षमा दलित समुदायका उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसले ४, नेकपा माओवादी केन्द्रले ६ र एकीकृत समाजवादी पार्टीले ७ वटा वडामा दलित समुदायबाट वडाध्यक्षको उम्मेदवार बनाएको छ । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त विवरण अनुसार ९० वटा वडामध्ये ७ दल र स्वतन्त्रतर्फकागरी २९ वटा वडामा दलित समुदायका नेता वडाध्यक्षको उम्मेदवार छन् । साभार ज्वाला सन्देश