अध्यक्षको उम्मेदवार शान्ती शर्माले गरे सेवा सुविधा नलिने घोषणा
दैलेख : भगवतिमाई गाउँपालिकामा नेकपा(एमाले) बाट अध्यक्षमा उम्मेदवारी दिनुभएका शान्ति प्रसाद शर्माले आफूले निर्वाचन जितेमा पारिश्रमिक बापत दिइने सेवा सुविधा नलिने घोषणा गरेका छन ।
भगवतिमाई गाउँपालिकाको –६ को चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले पाउने सेवा सुविधा बाट दलित विपन्न घाइते अपाङ्ग र एकल महिलाहरूलाई सहयोग गर्ने घोषणा गरेका हुन । उनले भने मेरो आफ्नै चार पाँच वटा व्यवसाय छन् मलाई गाउँपालिका बाट पाउने सेवा सुविधा लिएर केही हुँदैन । कमाउने भए त्यहाँ बाट कमाउँला सेवा सुविधा बापत पाउने सबै रकम तपाइहरूको हक हितका निम्ति सहयोग गर्छु ।
भगवतिमाई गाउँपालिकामा नेकपा एमालेले अघिल्लो निर्वाचनमा जितेको र दैलेखका ११ पालिका मध्ये उत्कृष्ट काम गरी जनताको मन जितेको बताउँदै अघिल्लो सरकारले गरेका राम्रा कामको संरक्षण गर्ने र नभएका कामलाई प्राथमिकता दिएर अगाडी बढ्ने बताए ।
भगवतिमाई गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउने,स्लेट उद्योग स्थापना, पानी उद्योग स्थापना, लघ जलबिद्युत आयोजना निर्माण गर्ने, सातै वडामा सदाबहार गाडी गुड्ने बनाउने र श्रम रोजगार मार्फत युवाहरूलाई स्थानीय स्तरमै रोजगारी दिने,जेष्ठनागरिकलाई घर आगमनमै स्वास्थ्य जाँचको व्यवस्था गर्ने आफ्नो उम्मेदवारी रहेको बताए ।
राजनीति सँगै व्यापार व्यवसाय गरेका उनी उद्योग वाणिज्य सङ्घको निवर्तमान अध्यक्ष समेत रहेका छन । अघिल्लो निर्वाचनमा नेकपा एमाले बाट उम्मेदवार भएर विजयी भएका दान बहादुर थापाले समेत गाउँपालिका बाट पाउने सेवा सुविधा नलिएर गाउँपालिकामा रहेका गरिब,विपन्नहरूलाई उक्त रकम बिवतरण गरेका थिए । दैलेखका ११ स्थानीय पालिकामध्ये सेवा सुविधा नलिने घोषणा गर्ने शान्ति शर्मा पहिलो भएका छन ।