अपराध न्यूनीकरणका सम्बन्धी सचेतनामूलक प्रशिक्षण
दैलेख : एसइई परीक्षामा सहभागी विद्यार्थीलाई साइवर अपराध,मानव बेचबिखन,आत्म हत्या,जबरजस्ती करणी,बाल यौन दुरुपयोग,बाल विवाह सम्बन्धी जानकारी तथा कानुनी व्यवस्था सम्बन्धी सचेतना मूलक प्रशिक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय –प्रहरी साझेदारी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत एसइई विद्यार्थी केन्द्रित विभिन्न सामाजिक विकृति विरुद्ध जनचेतना मूलक कार्यक्रम जिल्ला भर रहेका २४ वटा केन्द्र बाट एसइई परीक्षा दिएका विद्यार्थीलाई उक्त प्रशिक्षण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) भुवनेश्वर प्रसाद साहले २४ वटा परीक्षा केन्द्रबाट एसइई दिएका विद्यार्थीलाई साइवर अपराध,मानव बेचबिखन,आत्म हत्या,जबरजस्ती करणी,बाल यौन दुरुपयोग,बाल विवाह सम्बन्धी जानकारी तथा कानुनी व्यवस्था सम्बन्धी जानकारी दिने उद्देश्यले प्रशिक्षण दिएको बताए ।
उनले प्रतिनिधि सभा सदस्य,प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत,प्रहरी अधिकृत,सम्बन्धित केन्द्रका केन्द्रध्यक्ष,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,पालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्फत सचेतना मूलक प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए । उनले भने एसइई परीक्षा दिए पश्चात् विद्यार्थी केही समय खाली बस्ने र उक्त समयमा बालबालिकामा नकारात्मक धारणा सिर्जना हुँदा आत्महत्या,लागु औषध प्रयोग गर्ने, बाल यौन दुर्व्यवहार गर्ने,बालविवाह गर्ने हुँदा सकारात्मक सन्देश दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
नारायण नगरपालिका–१मा रहेको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारका प्रधानाध्यापक तथा केन्द्रध्यक्ष निकर बहादुर तारामी इतिहासमै पहिलो पटक यस्तो कार्यक्रम भएको बताए । उनले विगतको एसइई परीक्षा दिएर फुर्सदिला बनेका बालबालिका आत्महत्या गर्ने,बालविवाह गर्ने,बाल यौन दुर्व्यवहार, जवरजस्ती करणीमा पर्ने गरेका घटना आएको बताउँदै यस्ता कार्यक्रमले केही मात्रमा अपराध न्यूनीकरण हुने बताए ।
नारायण नगरपालिका–१मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा प्रशिक्षण दिँदै नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले लैङिगक हिंसा तथा साइवर अपराध जस्ता अमानवीय क्रियाकलापहरूको न्यूनीकरणका निम्ति समुदाय प्रहरी सँगै विद्यार्थीको पनि महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले हरेक नागरिक बिना बर्दीको प्रहरी भएको बताउँदै समाजमा शान्ति कायम र अपराध र हिंसाजन्य घटना भएको खण्डमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन । उनले भने बालबालिका भनेको भविष्यका कर्णधार हो त्यसैले फुर्सदको सयमा पनि भविष्यमा के भन्ने सोच्ने र त्यस तर्फ अध्ययन गरेर बस्नु पर्ने हुन्छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका प्रमुख तेज बहादुर थापाले एसइई दिने विद्यार्थीलाई जिल्लाभर रहेको परीक्षा केन्द्रमा नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुले सकरात्मक सन्देश प्रवाह भएको बताए । उनले विगत जस्तो एसएलसी नभए पनि अझै पनि परीक्षा राम्रो नभएको खण्डमा आत्महत्या गर्ने जस्ता घटना समाजमा घट्ने गरेको हुँदा त्यसको न्यूनीकरणका लागि यो अभियान महत्त्वपूर्ण भएको बताए । दैलेख बाट पाँच हजार ५८२ जना विद्यार्थी एसइइमा सहभागी भएका थिए ।