Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

दैलेखमा गठबन्धन गर्न दलहरु असफल

दैलेख  :  पाँच दलीय केन्द्रीय गठबन्धनको निर्णय अनुसार जिल्लामा भागबन्डा गर्न असफल भएपछि जिल्लाका केही स्थानीय तहमा आवश्यकताका आधारमा गठबन्धन गरिएको छ । जिल्लाका ११ स्थानीय तह मध्ये केही स्थानीय तहमा मात्र गठबन्धन गरिएको हो । जिल्लाको नारायण नगरपालिकामा गठबन्धन दलहरुले वडामा भागबन्डा गर्न नसकेपछि गठबन्धन दलहरुनै प्रतिस्पर्धामा गएका छन् । नारायण नगरपालिकामा गठबन्धन दल बाट नेपाली काँग्रेसलाई नगर प्रमुख र एकीकृत समाजवादी पार्टीलाई उप प्रमुख भाग परेर त्यही अनुसार उम्मेदवार दर्ता गराए पनि वडामा गठबन्धन नभएपछि नेपाली काँग्रेस समेत रुष्ट भएको छ ।

नेपाली काँग्रेसका नेताहरूले आफ्नो पार्टीले उप प्रमुख पदमा उम्मेदवारी नदिएर गठबन्धन गर्ने सहमति कार्यान्वयन गरेको भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले धोका दिएको विश्लेषण समेत गरेको छ । माओवादीले नारायणको नगर प्रमुख र उप प्रमुख र वडामा उम्मेदवारी दिएको छ । गठबन्धन दल बाट नारायण नगरपालिका उप प्रमुखको उम्मेदवार बनेकी सावित्री मल्ले नगर प्रमुख र उप प्रमुखमा मात्र गठबन्धन भएको र वडामा आ आफै प्रतिस्पर्धा गर्नु पर्ने अवस्था आएको बताइन । उनले अधिकतम मिलाउने कोसिस गरियो सम्भव भएन अव प्रमुख र उप प्रमुखमा नेपाली काँग्रेस र एकीकृत समाजवादीले मिलेर निर्वाचन लड्ने र वडामा आ आफ्नो दलले स्वच्छ प्रतिस्पर्धा गर्ने हुन्छ ।

दुल्लु नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस उप प्रमुख माओवादी केन्द्रको भागमा परे अनुसार त्यही अनुसारको मात्र उम्मेदवारी दर्ता गरिएको छ । नगर प्रमुखमा नेपाली काँग्रेसका भरत रिजाल र उप प्रमुखमा माओबादीकेन्द्र केन्द्रका पदम खड्काको उम्मेदवारी परेको छ । गठबन्धन दलमा रहेको माओवादी केन्द्रलाई केही वडा दिएको छ भने एकीकृत समाजवादीलाई कुनै वडा समेत पाएको छैन ।
महावु गाउँपालिकाको अध्यक्ष एकीकृत समाजवादी पार्टीको भागमा परेको भए पनि काँग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबैमा उम्मेदवारी दर्ता गरे पछि एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । अध्यक्ष उपाध्यक्ष सहित तीन वडा एकीकृत समाजवादी र तीन वडा माओबादीकेन्द्र केन्द्रको भागमा परेको छ ।

नौमुले गाउँपालिकामा नेपाली काँग्रेसका विरुद्ध माओबादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नेता छविराम सुबेदी र एकीकृत समाजवादी बाट उप प्रमुखमा गंग बहादुर शाही निर्वाचनमा होमिएका छन ।
त्यस्तै भगवतिमाई गाउँपालिकामा माओवादी र एकीकृत समाजवादी पार्टीको मात्र गठबन्धन भएको छ । गाउँपालिका अध्यक्ष माओवादी केन्द्रको भागमा परेको भए पनि नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गरेपछि त्यहाँ पाँच दल भित्र गठबन्धन हुन सकेको थिएन । माओबादी केन्द्रले गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र केही वडा लिएको छ भने समाजवादी पार्टीलाई वडा अध्यक्ष मात्र दिइएको छ । अन्य चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका, डुगेश्वर गाउँपालिका, गुराँस गाउँपालिका, आठबसि नगरपालिकामा गठबन्धन हुन नसक्दा दलहरु एक्ला एक्लै निर्वाचनमा होमिएका छन् ।