Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

बयान बदल्ने महिलालाई तीन महिना कैद

दैलेख  : आफू माथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको ब्यहोराको विपरीत अदालतमा बयान बदल्ने २२ वर्षीय महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले बिहीबार उक्त सजाय गरेको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले प्रहरीमा आफैले दिएको उजुरीको ब्यहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले गाउँको रिसिइबीले उजुरी दिएको भनी बयान बदलेको कारण यो सजाय भएको बताए । उनले भने राज्यका साधन, श्रोत र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ ।

बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका–५ कट्टी गाउँका २३ वर्षीय दीपेन्द्र चन्दलाई अदालतले सपाइ दिएपछि बिहीबार कारागारबाट छुटेका छन । झन्डै दुई वर्ष अघि २०७७ वैशाख २० गते आफू माथि बलात्कार भएको भन्दै पीडित महिलाले वैशाख २८ गते दिएको उजुरी दिनुभएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले २०७८ जेठ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेस गरेको थियो ।