Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

मतदान स्थलको अनुगमन गर्दै जिल्ला सुरक्षा समिति

दैलेख  :  आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका चार वटै सुरक्षा निकाय सुरक्षा व्यवस्थापन तिर लागेका छन् । गृह मन्त्रालयको निर्देशन पछि विगतको निर्वाचनमा कायम गरिएका मतदान केन्द्र र मतदान स्थलको अवलोकन तथा भौतिक संरचनाको अवस्थाको अनुगमन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले विगतको स्थानीय तहको निर्वाचनको अनुभव र सुरक्षा कार्य योजनालाई समेत अध्ययन गरी स्थानीय तह निर्वाचन सुरक्षा रणनीति तयार गर्न आफूहरूले मतदान स्थलको अवलोकन गरिरहेको बताए । उनले स्थानीय निर्वाचनलाई शान्ति सुरक्षाको दृष्ट्रिकोणले त्रुटि रहित तथा शान्त वातावरण सम्पन्न गर्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधि सँग समन्वय गरिरहेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) भुवनेश्वर प्रसाद साहले जिल्लामा कायम रहेका मतदान स्थलहरुमा भौतिक संरचना,मतदान स्थलहरुको संवेदनशीलता,प्रहरी युनिट बाट मतदान स्थलको दुरी,सडक र सञ्चारको अवस्थाका विषयमा अध्ययन गरिरहेको बताए । उनले स्थानीय सरकारका जनप्रतिनिधि सँग निर्वाचनलाई स्वच्छ वातावरणमा सम्पन्न गर्न आवश्यक पुर्बधार निर्माण र अन्य सहयोगका लागि आग्रह गरिएको जानकारी दिए । उनले भने सबै स्थानीय तहका प्रमुख सँग आवश्यक छलफल थालिएको र आइतबार भैरवी गाउँपालिकाका जनप्रतिनिधि सँग छलफल गरिएको छ ।

विगतमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन समूहमा कार्य योजना बन्ने गरेकामा यस पटक मतदान केन्द्र÷स्थललाई अति संवेदनशील, बढी संवेदनशील र संवेदनशील क्षेत्रका रूपका किटान गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालनको रणनीति बनाउने जानकारी दिइएको छ । मतदान स्थलहरूको अनुगमनमा सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेल,प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाह,इन्द्र दल गुल्मका सेनानी दिनेश लामा,राष्ट्रिय अनुसन्धानका प्रमुख दिल बहादुर चौधरी रहेका छन ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख मनमाया काउचाले जिल्लामा १३६ मतदान स्थल रहेको जानकारी दिइन । उनले गत स्थानीय तहको निर्वाचनमा १३६ मतदान स्थल रहेको र यस पटक आठबिस नगरपालिका एक वटा मतदान केन्द्र थपिएको र डुगेश्वर गाउँपालिका –६ मा मतदान स्थल गाभिएका कारण निर्वाचन स्थल यथावत् रहेको जानकारी दिइन ।