Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कांग्रेस र एमालेका नेताहरुबीच निर्णायक छलफल जारी

काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज फेरि भेटवार्ता हुने भएको छ। अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनलगायतका विषयमा शुक्रबार अबेर रातसम्म भएको छलफल सहमति नजिक पुगेको बताइएको छ। त्यही सहमतिलाई निर्णयक बनाउन देउवा र ओलीबीच भेटवार्ता हुने कांग्रेस नेताहरुले बताए।

देउवा र ओलीबीच छलफल हुनुअघि दुवै पार्टीका नेताहरुबीच बालकोटामा छलफल भइरहेको छ। छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालगायत रहेका छन्।

एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवाले माओवादीसँग लिखित सहमति माग गरेको थियो। माओवादीले लिखित सहमति गर्न ढिलाइ गरेपछि प्रधानमन्त्री देउवा र ओली आज पनि भेट्न लागेको बताइएको छ।

शुक्रबारको भेटमा लोकतन्त्र रक्षाका लागि दुवै पार्टी एकसाथ अगाडि बढ्ने सहमति गरेका थिए। संसद सचिवालयले पनि भोलि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताका विषयमा छलफल हुने कार्यसूची सार्वजनिक गरेको छ।