Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

अधुरा एकीकृत बस्ती निर्माणमा बजेट थप

सुर्खेत  :  कर्णाली प्रदेशमा एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत पुराना योजना सम्पन्न गर्न बजेट थप गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चालू आर्थिक वर्षमा एकीकृत बस्ती विकासका लागि आठवटा आयोजनामा थप बजेट पठाइएको छ ।

चालू आर्थिक वर्षमा एकीकृत बस्ती विकास कार्यक्रमका लागि २४ करोड १० लाख रुपियाँ बजेटको व्यवस्था गरिएको हो । गत वर्ष करिब २५ करोड बजेट पठाइएको थियो । आवास निर्माणका लागि कर्णालीका चारवटा जिल्लामा छनोट गरिएका आठवटा आयोजनाबाट ४४७ वटा आवास निर्माण हुँदैछन ।

कर्णाली प्रदेशमा छनिएका वा प्राकृतिक विपतको जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरी एकीकृत बस्ती विकासको रूपमा विकास गर्न सुरु गरिएको प्रदेश सरकारको भनाइ छ । एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले कार्यविधि तयार गरेर अगाडि बढाएको छ । यो कार्यक्रमका लागि कालीकोट, जाजरकोट, हुम्ला र मुगुमा दुई दुई वटा आयोजना सञ्चालनमा छन ।

कालिकोटको नरहरीनाथ गाउँपालिका –४, डाँडा सुन्दरखालमा ८० वटा आवास निर्माण गरिदैँ छ । यसका लागि चार करोड रुपियाँ बजेट पठाइएको छ । कालीकोटकै रास्कोट नगरपालिका–७ मा नमुना बस्ती निर्माणअन्तर्गत एक सय आवास निर्माणका लागि पाँच करोड रुपियाँ बजेट पठाइएको छ । यस्तै जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ मा ४० आवास निर्माण गरिँदैछ । यसका लागि दुई करोड रुपियाँ बजेट थप पठाइएको छ ।

बारेकोट गाउँपालिका–७ मा ६० आवास निर्माणका लागि तीन करोड रुपियाँ बजेट थप पठाइएको छ । मुगुको खत्याड गाउँपालिकाको वडा नं। २ र ८ मा आयोजना सम्पन्न गर्न तीन करोड १० लाख रुपियाँ बजेट पठाइएको छ । यी दुईवटा वडामा गरी ३३ वटा आवास निर्माण गरिँदैछ । यस्तै हुम्लाको चङ्खेली गाउँपालिका–६ मा ३३ वटा आवास निर्माणका लागि दुई करोड रुपियाँ थप गरी पठाइएको छ ।

यसैगरी ताजाकोट गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा आयोजना सम्पन्न गर्न पाँच करोड बजेट थप गरिएको छ । यी वडामा ८३ वटा आवास निर्माण गर्न लागिएको छ । एकीकृत बस्ती विकासका लागि लाभग्राहीले लागतको कम्तीमा पाँच प्रतिशत बराबरको श्रमदान, नगद वा सामग्री योगदान गर्नुपर्छ ।

बस्तीमा सडक, खानेपानी, ढल खुला क्षेत्र, सञ्चार आदिको निर्माण गरिनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले क्रमागत योजना भएकाले सम्पन्न गर्न थप बजेट स्थानीय तहमा पठाइएको जनाएको छ । कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले अघिल्ला वर्षकै योजनालाई सम्पन्न गर्न बजेट विनियोजन गरिएको बताए ।साभार नेपाली रैवार