Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

सिसीटिभि क्यामराको मर्मत नहुँदा समस्या

दैलेख  :  बजार क्षेत्रको शान्ति सुरक्षाका लागि जडान गरिएका सिसीटिभि क्यामरा बिग्रिएको महिनौँ हुँदा समेत मर्मत हुन सकेका छैनन् । दैलेखको नारायण नगरपालिकामा जडान गरिएका सिसीटिभि क्यामेरा वर्ष दिन नबित्दै बिग्रिएको भए पनि सम्बन्धित निकायले चासो नदिएका कारण सिसी क्यामराको मर्मत हुन नसकेको हो ।

तत्कालीन जिल्ला विकास समिति, नारायण नगरपालिका, गैरसरकारी संस्था महासङ्घ, निर्माण व्यवसायी सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ लगायतले क्यामरा जडानका लागि करिव १४ लाखको लागतमा दश वटा स्थानहरुमा सि.सि. क्यामेरा जडानसहयोग गरेका थिए । सदरमुकामको बसपार्क काँडा चौर, गणेश चौक, त्रिभुवन मावि अगाडी, डेकेन्द्र चौक, देवकोटा चौक, लोकतान्त्रिक चौक, पुरानो कारागार र दुई खम्बा गरी सदरमुकाममा आठ स्थानमा क्यामरा जडान गरिएको थियो ।
बैङ्क,वित्तीय संस्था तथा ठुला ठुला पसलले आफ्नै लगानीमा क्यामेरा जडान गरे पनि यातायातका साधनको बढ्दो चापलाई मध्यनजर गरी जडान गरिएको क्यामेरा बिग्रिएपछि सार्वजनिक यातायातका साधनको लापरबाही समेत बढेको छ ।बजारको शान्ति सुरक्षा कायम गर्न जडान गरिएको क्यामेराले आपराधिक गतिविधि रोक्न सहज बनाए पनि मर्मत गर्न सम्बन्धित निकायले चासो नदिएका कारण शान्ति सुरक्षा कायम गर्न समेत समस्या भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले सदरमुकाममा जडान गरिएका दश वटा सिसी क्यामरा मध्ये अहिले चार वटा क्यामराले मात्र काम गरेको बताए । उनले दैलेख बजारको गणेश चोक,डेकेन्द्रचोक,लोकतान्त्रिक चोक र अदालत नजिकका क्यामराले मात्र काम गरेको बताए । उनले सबै सिसी क्यामरा बिग्रेपछि आफूहरूले ताकेता गरेर चार वटा मर्मत भए पनि अरू हुन नसकेको बताए । उनले बाँकी काम नगर्ने सिसी क्यामरा लाई छिटै मर्मत गर्न सबै निकाय सँग समन्वय गरिरहेको बताए ।

नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले बजार क्षेत्रको सुरक्षाका लागि जडान गरिएको भए पनि त्यसको नियमित अनुगमनको जिम्मा प्रहरीलाई दिएको बताए । उनले नगरपालिकाले प्रहरी सँग समन्वय गरिरहेको र छिटै मर्मत गर्नु पर्ने सिसी क्यामरा मर्मत गर्न नगरपालिका तयार रहेको बताए ।