Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण


काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी छिन । प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति भण्डारीले नानियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन ।

विस्तारित मन्त्रिमण्डलअनुसार राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिए ।

त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीले पनि आजै राष्ट्रपति समक्ष पथ तथा गोपनीयताको शपथ लिएका हुन ।

प्रधानमन्त्री देउवा समक्ष नवनियुक्त राज्यमन्त्री द्धय भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादवले पद तथा गोपनीयताको शपथ लिए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुख, मुख्यसचिव, प्रधानसेनापतिलगायतको उपस्थिति थियो ।
मन्त्रिमण्डलमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित नौ, माओवादीका तर्फबाट एक राज्यमन्त्रीसहित छ, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट एक राज्यमन्त्रीसहित पाँच र जनता समाजवादीका तर्फबाट चार मन्त्री छन ।