भैंसी किन्ने निहुँमा बाँस बसेका अज्ञात समुहद्धारा लुटपाट
दैलेख : जिल्लाको भैरबी गाउँपालिका–१ मा अज्ञात समूहले लुटपाट गरेको छ । स्थानीय ६९ वर्षीय सेते खत्रीको घरमा भैंसी किन्ने निहुँ बनाएर बास माग्न आएका तीन जनाको अज्ञात समूहले सेतेको परिवारलाई बेहोस बनाइ लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सेतेको परिवारमा उहाँकी पत्नि ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री रहेका छन ।
स्थानीयले शुक्रबार बिहान सेते, उनकी श्रीमती माग्ली र छोरी नानकलालाई बेहोस अवस्थामा फेला पारेका थिए । सेतेको परिवारलाई बेहास अवस्थामा फेला पारेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार बेहोस अवस्थामा भेटिएका तीनैजनालाई दैलेख अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको बताए । उनले उनीहरुलाई कुन औषधि खुवाएर बेहोस बनाइएको हो भन्नेबारे नखुलेको डिएसपी श्रेष्ठले बताए ।
प्रहरी प्रमुख श्रेष्ठले भने तीन जना अज्ञात व्यक्ति भैंसी किन्ने निहुँमा बिहीबार साँझ सेतेको घरमा बास माग्न आएको भन्ने खुलेको छ, घरको दराज फोडिएको छ, के–कति लुटिएको छ भन्नेबारे यकिन भएको छैन्, सेतेको परिवार उपचारपछि पर्किएपछि मात्रै के–कति सामग्री लुटिएको छ भन्नेबारे खुल्ने छ ।
सेतेका छिमेकीले सुनलगायतका सामग्रीहरु लुटिएको आशंका गरेका छन् । उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग समेत सेतेको आफन्तले गरेका छन ।