Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

ह्वीप उल्लंघन गर्ने एमाले सांसदलाई उपचुनाव जिताउने आश्वासन दिएको खुलासा

सुर्खेत : नेपाली कांग्रेस र माओवादी केन्द्रले उपचुनाव जिताउने बचन दिएपछि एमालेका तत्कालीन चारजना प्रदेशसभा सदस्यले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोरक्रस’ गरी विश्वासको मत दिएको खुलेको छ ।
सर्वोच्च अदालतले सोमबार गरेको फैसलापछि पदमुक्त भएका सांसदमध्येका एक कुर्मराज शाहीले उपचुनाव जिताउने कांग्रेस–माओवादीको प्रतिवद्धतापछि फ्लोरक्रस गरेको रहस्य खोलेका हुन् ।

‘हामीलाई अहिलेको स्थिति आउँछ भन्ने थाहा थियो’, शाहीले भने, ‘कांग्रेस र माओवादीले उपचुनाव जिताउने बचन दिएपछि फ्लोरक्रस गरेका हौं । एक हिसाबमा हामीले चुनावको तयारी थालिसक्यौं । वैशाख ३ गते पार्टी ह्वीपविपरीत सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । स्रोतका अनुसार एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निर्देशनमा चार सांसदले फ्लोसक्रस गरेका थिए ।

विश्वासको मत दिएका चारमध्ये तीन एमाले सांसदलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाएका थिए ।
नेकपा एमालेको तर्फबाट कालिकोटबाट शाही, डोल्पाबाट नन्दसिंह बुढा, सल्यानबाट प्रकाश ज्वाला र दैलेखबाट अम्मरबहादुर थापा २०७४ सालको प्रदेशसभा निर्वाचन जितेका थिए ।

उपचुनावमा कांग्रेस र माओवादीले उम्मेदवार नै नउठाउने बचन दिएको शाहीको भनाइ छ । पदमुक्त चारै सांसद उपचुनाव जित्नेमा ढुक्क छन् । तर उनीहरु कुन पार्टीबाट उम्मेदवार बन्ने टुंगो छैन, किनकि उनीहरुलाई एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरिसकेको छ ।

कर्णाली प्रदेशसभामा सचिवालयले प्रत्यक्षतर्फ पाँच सिट रिक्त रहेको जानकारी गराउँदै चुनावको आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेखिसकेको छ । सरकारले चाहेको खण्डमा ढिलोमा तीन महिनापछि कर्णालीमा पाँच सिटका लागि चुनाव हुनसक्ने सभामुख राजबहादुर शाहीले बताए । तत्कालीन अवस्थामा नेकपा माओवादीका मुख्यमन्त्री शाहीलाई सदनको विश्वास जित्न २१ मत आवश्यक थियो । एमालेका चार सांसदले मत दिएर २२ मत पुर्याएका थिए ।

अब कर्णाली प्रदेशसभामा एमाले १६ सिटसहित सबै भन्दा ठूलो दल छ भने माओवादीका १२ र कांग्रेसका ६ सांसदसहित १८ सिट भएको गठबन्धन सरकार बहुमतमा छ । राप्रपाको एक सिट छ ।साभार नेपालप्रेस