Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

गृहमन्त्रीलाई एमाले सांसदहरूको प्रश्न – तुइन आफैं चुँडिएको भन्न खोजिएको हो

काठमाडौं  :  गृहमन्त्री बालकृष्ण खाणले जयसिंह धामी बेपत्ता भएको घटनामा एसएसबीको संलग्नताबारे मौन बसेपछि एमाले सांसदहरूले प्रश्न उठाएका छन् । गृहमन्त्रीले यस घटनाबारे संसदमा दिएको जानकारी गैरजिम्मेवारपूर्ण रहेको आरोप उनीहरूले लगाए ।
पूर्वगृहमन्त्री तथा एमाले सांसद खगराज अधिकारीले यस घटनामा गृहमन्त्रीको प्रस्तुति घुमाउरो र हलुका भएको बताए । उनले भने, ‘यस्तो अपराधपूर्ण क्रियाकलापबाट मृत्युवरण हुँदा नेपाल सरकार चाहिँ आफैं चुँडिएको जस्तो निमुखो तरिकाले प्रस्तुत भएको छ । यो हाम्रो स्वाभिमानविपरीत हो । यस्तो तरिकाले अपराधीमाथि कारवाही हुन सक्दैन ।’

एमालेकी अर्का सांसद शान्ता चौधरीले पनि गृहमन्त्री हल्का र गैरजिम्मेवाररूपमा प्रस्तुत भएको आरोप लगाइन् ।
उनले भनिन्, ‘प्रत्यक्षदर्शीले नै एसएसबीले तुइन काटेको भनिसकेका छन् । गृहमन्त्री अझै हामी जानकारी लिइरहेका छौं भन्नुहुन्छ । यस्तो हल्का पाराले प्रस्तुत हुन उहाँलाई नैतिकताल दिँदैन । एसएसबीको ज्यादतीमा हामी मौन बस्न सक्दैनौं ।’

अर्का एमाले सांसद गणेशसिंह ठगुन्नाले पनि प्रत्यक्षदर्शीका बयान आइसक्दा पनि सरकारले आलटाल गरेको बताए । यस विषयमा सरकारले भारत सरकारसमक्ष के कुरा गरेको छ भन्ने उनको प्रश्न थियो ।