Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

कर्णालीमा कोरोनाबाट हुने मृत्युदर उच्च, दुई हप्तामा २३ को ज्यान गयो

सुर्खेत :  गत चैत ३१ गतेसम्म कर्णालीमा संक्रमण न्यून थियो। सुर्खेत बाहेक कर्णालीका अन्य जिल्ला संक्रमणमुक्त थिए। सुर्खेतमा पनि न्यून अर्थात् ३६ जना मात्रै संक्रमित थिए। कोरोना अस्पतालहरु बन्द थिए। दैलेख, रुकुमपश्चिम र जुम्लाका पीसीआर प्रयोगशाला बन्द थिए। हप्ता दिनसम्म कुर्दा पनि प्रयोगशालालाई कोरोना परीक्षणका लागि आवश्यक नमूना पुग्दैनथ्यो।

तर वैशाख सुरु भएसँगै कोरोना संक्रमणदर उच्च भएको छ। चैत मसान्तसम्म ३६ जना संक्रमित रहेको कर्णालीमा २० दिनको अवधिमा संक्रमितको संख्या १ हजार ७९४ पुगेको छ। यो अवधिमा कर्णालीका सबैजसो जिल्लामा संक्रमण फैलिसकेको छ। प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा ९६६, दैलेखमा १४७, कालिकोटमा ८३, जाजरकोटमा १४३, सल्यानमा २७२, रुकुमपश्चिममा १४१, डोल्पामा २२, जुम्लामा ९, हुम्लामा ६ र मुगुमा ५ जना संक्रमित भइसकेका छन्।

संक्रमण मात्रै होइन, कर्णालीमा मृत्युदर पनि उच्च छ। दुई हप्तामै कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भइसकेको छ। कोरोनाको दोस्रो लहरमा कर्णालीमा वैशाख ५ गते कोरोनाबाट पहिलो मृत्यु भएको थियो। त्यसयताका दुई हप्तामा संक्रमणबाट २३ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकलपर्सन नोननारायण चौधरीले जनाए। जबकी पहिलो चरणको संक्रमणबाट वर्ष दिनमा २०७७ जेठ १७ देखि चैत २५ सम्म ३१ जनाको मात्रै मृत्यु भएको थियो।

संक्रमणबाट हालसम्म प्रदेशमा कुल ५४ जनाको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृतकमध्ये आधाभन्दा बढी सुर्खेतका छन्। तथ्यांकअनुसार कोरोनाबाट सुर्खेतका ३०, दैलेखका ९, सल्यानका ४, रुकुपश्चिमका ३, कालिकोटका २, डोल्पा र जुम्लाका १र१ जना र अन्य प्रदेशका चार जना ९बाँकेका २, स्याङ्जा र रोल्पाका १र१० जनाको मृत्यु भएको छ।

अहिलेकै दरमा संक्रमण उच्च भए प्रदेशमा कोरोना नियन्त्रणबाहिर जाने प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डाक्टर केएन पौडेल बताउँछन्।

‘संक्रमण नियन्त्रणबाहिर जाने खतरा बढ्यो’ उनी भन्छन्, ‘अब निषेध आदेशमा कडाइ र सुरक्षा सावधानी अपनाउन नसके कोरोना नियन्त्रण बाहिर जान्छ।’ अस्पतालहरुमा अक्सिजन, बेड र जनशक्ति अभाव देखिएको भन्दै नागरिकले आफ्नो सावधानी आफै अपनाउनुपर्ने अवस्थाको आएको उनको तर्क। निषेध आदेशले मात्रै संक्रमण नरोकिने भएकाले आम नागरिकलाई सुरक्षा सावधानी अपनाउन उनको सुझाव छ। नेपाल समय

error: Content is protected !!