Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कोरोना सङक्रमण बढ्दै गएपछि जनगणना कार्यक्रम स्थगित

काठमाडौँ  : कोभिड–१९ का कारण भएको लकडाउनले १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका निम्ति स्थगित भएको छ । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । योजना आयोग सचिवालयअन्तर्गत केन्द्रीय तथ्यांक विभागले हरेक दस वर्षमा जगणना गर्दै आएको छ । विभागको निर्धारित तालिकाअनुसार गत चैतमा ८ हजार सुपरिवेक्षक छनोट गरी देशव्यापी तालिम दिएको छ ।

ती सुपरिवेक्षक तथा कर्मचारीले वैशाख १६ गतेबाट घरपरिवार लगत लिने कार्य थाल्ने पूर्वनिर्धारित कार्यक्रम थियो । सोही दिनबाट आंशिक लकडाउन भएपछि योजना आयोगले स्थगित गर्नका निम्ति मन्त्रिपरिषदमा सिफारिस गरेको आयोगका जनगणना हेर्ने सदस्य रामकुमार फुयाँलले बताए । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार हाललाई निर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ,’ लकडाउनमा कर्मचारी पनि संक्रमित भएको उल्लेख गर्दै सदस्य फुयाँलले भने, ‘जसलाई तालिम दिनु पर्ने हो, उनीहरू पनि अप्ठ्यारामा छन् । तत्कालका निम्ति जनगणना कार्य स्थगित गर्ने मन्त्रिपरिषद्‍मा सिफारिस गरिएको हो ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रिय जनगणना कार्य स्थगित भएकोबारे आधिकारिक सूचना पाइनसकेको जनाए । ‘महामारीको कारण मन्त्रिपरिषद्ले स्थगत गर्ने निर्णय गरेको हुनुपर्छ,’ उनले भने, ‘हामीलाई सरकारबाट आधिकारिक जानकारी आएको छैन । भरेसम्म सरकारले आधिकारिक जानकारी दिनेछ ।’

महानिर्देशक श्रेष्ठले एउटामा असर गरेपछि अर्को पनि प्रभावित हुने बताए । ‘एउटा कामको आधारमा अर्कोको मूल्यांकन गर्ने हो,’ निर्धारित तालिकाबारे श्रेष्ठले भने, ‘अघिल्लो तालिका पूरा हुन नसकेमा अर्कोलाई मात्र अगाडि बढाउने सक्ने अवस्था रहँदैन ।’ तालिकाअनुसार वैशाख १ गतेभित्र स्थानीय जनगणना कार्यालय स्थापना गर्ने, वैशाख १६ देखि २२ सुपरिवेक्षक तालिम दिने, २६ देखि जेठ १४सम्म घरपरिवार सूचीकरण कार्य गर्ने रहेको छ ।

त्यसैगरी विभागले अनलाइनबाट प्राप्त आवेदनका आधारमा ३९ हजार जना गणक छनोटको नामावली वैशाख २६ गतेपछि प्रकाशन गर्ने तयारी गरेको छ । तालिकाअनुसार जेठ १७ देखि २२ सम्म गणक तालिम दिने रहेको छ । जेठ २५ देखि असार ८ गतेसम्म जनगणना कार्य हुने कार्यतालिका थियो । साभार