कर्णाली नदिमा हाम फाल्ने थप दुई जनाको शव भेटियो
कमल शर्मा
दैलेख,फागुन २५ गते । आइतवार साँझ घरबाट निस्किएर बेपत्ता भएका एकै घरका पाँच जना मध्ये थप दुई जनाको शव फेला परेको छ । जिल्लाको आठबीस नगरपालिका–३ निमाइलका ३५ बर्षीया सुकी बडुवाल उनका छोरीहरु १५ बर्षीया कल्पना वडुवाल, १२ बर्षीया सरिता बडुवाल, ७ बर्षीया रजनी बडुवाल र छोरा १० बर्षीया ललित बडुवाल मंगलवार साँझ घरबाट निस्किएपपछि बेपत्ता थिए ।
आमा सहित बेपत्ता भएका मध्ये १५ बर्षीया कल्पना वडुवाल र १२ बर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो फेला परेको थियो । उनिहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेका थिए ।
बेपत्ता रहेका आमा सुकी बडुवाल उनका छोरी ७ बर्षीया रजनी बडुवाल र छोरा १० बर्षीया ललित बडुवालको खोजीका लागि आज विहानै देखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरु खटिएका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा आज (मंगलवार) दिउँसो १२ बजेतीर दुई जनाको शव फेला परेको जानकारी दिए । उनले सुकी बडुवाल र उनका छोरा १० बर्षीया ललित बडुवालको शव फेला परेको डिएसपी श्रेष्ठले बताए । घटनास्थलमा रहेका डिएसपी श्रेष्ठले दैलेख र अछाम जोड्ने बेलखेतस्थित पुल नजिकैको कर्णाली नदिमा दुई जनाको शव फेला परेको छ ।’ डिएसपी श्रेष्ठका अनुसार ७ बर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
थप दुई जनाको शव पनि कर्णाली नदिमै भेटिएपछि पाँचै जनाले कर्णाली नदिमा हाम फालेको पुष्टि भएको छ । यता सुकीका श्रीमान् मानबहादुर बडुवाललाई पक्राउ गरि अनुसन्धान समेत थालेको प्रहरीले जनाएको छ । उक्त घटनामा अनुसन्धान र खोजतलासका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठ सहितको प्रहरी टोली मंगलवार विहानै देखि घटनास्थलमा खटिएको छ ।