Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कर्णाली प्रदेश लोकसेवा आयोगले पायो पूर्णता

सुर्खेत  :  कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सिफारिस समितिले बिहीबार उपाध्यायलाई अध्यक्ष चयन गरेको हो । त्यस्तै आयोगको सदस्यमा सुर्खेतकै भक्तबहादुर खड्का र महिलातर्फबाट हुम्लाकी वसन्तीकुमारी सिंह शाहीलाई नियुक्त गरिएको छ । सिफारिस समितिमा सभामुख राजबहादुर शाही र प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही सदस्य छन् । समितिको सिफारिसमा अध्यक्ष र सदस्यहको नियुक्त गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव एवंम प्रवक्ता तुल खड्काले जानकारी दिए ।

अध्यक्षमा सिरफारिस भएका उपाध्याय सुर्खेत निवासी हुन् । उनी पूर्व क्षेत्रीय शिक्षा निर्देशक हुन् । लोकसेवा अध्यक्षमा नियुक्त भएपछि उपाध्यायले आफू संविधानलाई टेकेर, ऐन नियमको परिधिभित्र रहेर काम गर्ने प्रतिकृया दिएका छन् । उनले इमान्दारीपूर्वक र निष्पक्ष ढंगले काम गर्ने बताए । कर्णाली प्रदेश सरकारले लोक सेवा आयोग ऐन २०७५ पहिलो संशोधन सहित जारी गरेको छ । आयोगको पदाधिकारी बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्तिको बेला कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने प्रावधान छ ।

कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्ष र सदस्यमा सिफारिस भएका तीन जनाले बिहिबार नै सपथग्रहण गरेका छन् । उनिहरुले प्रदेश प्रमुखको कार्यलयमा सपथग्रहण गरेका हुन् । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा सभामुख राजबहादुर शाहीको उपस्थितिमा अध्यक्ष र सदस्यद्वयले पद तथा गोपनियताको सपथ लिएका हुन् । कार्यक्रममा प्रदेश प्रमुख कलौनीले संविधानले दिएको अधिकारलाई समुचित प्रयोग गर्दै प्रदेशको समग्र विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा लाग्न आयोगलाई निर्देशन दिए ।
कर्मचारी नियुक्तिको बाटो खुल्यो
प्रदेश लोकसेवा आयोगले पूर्णता पाएसँगै प्रदेश सरकारले आवश्यक कर्मचारी लोकसेवा मार्फत नियुक्ति गर्न सक्ने कानुन मन्त्रालयका निमित्त सविच एवंम् प्रवक्त तुल खड्काले बताए । अब प्रदेश सरकारका लागि आवश्यक दरबन्दीको कर्मचारी लोकसेवा मार्फत विज्ञापन खुलाएर पदपूर्ति गर्न पाउने छ । सरकार गठन भएको तीन वर्ष पुराभएपनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन् ।