Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

प्रतिनिधिसभा विघटन मुद्दा : एमिकस क्युरीको बहस सुरु

काठमाडौं :  प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट एमिकस क्युरीको बहस सुरु भएको छ। सोमबार रिट निवेदकको जवाफी बहस सकिएसँगै मंगलबारबाट अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु भएको हो।नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा इजलासलाई स्वतन्त्र सहयोगीका रूपमा बहस गर्न पाँच जना वरिष्ठ अधिवक्तालाई सिफारिस गरेका थिए। सर्वोच्च बारले वरिष्ठ अधिवक्ता गीता पाठक र पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले माग गरेअनुरूप नेपाल बारले तीन र सर्वोच्च अदालत बारले दुई गरी पाँच जनाको नाम पठाएका हुन्।
बारले एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ। कार्की तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा महान्यायाधिवक्ता भएका थिए। खरेल बारका पूर्वमहासचिव हुन्। मैनाली बारकै पूर्वकोषाध्यक्ष हुन्।एमिकस क्युरीले राष्ट्रियरअन्तर्राष्ट्रिय अभ्यास, सर्वोच्चका पूर्वनजिर, संवैधानिक मान्यतासहित स्वतन्त्र र निष्पक्ष राय उपलब्ध गराउने प्रचलन छ। उनीहरुले कुनै पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन्। त्यसपछि बहस नोट मगाएर अध्ययन पनि हुनेछ।

प्रतिनिधिसभा विघटन विवादमा दायर भएका रिटमा निवेदक र विपक्षीका तर्फबाट पहिलो चरणको बहस सकिएपछि इजलास चाँडो फैसला दिने तयारीमा जुटेको छ। राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोग, सभामुखसहित विपक्षीका तर्फबाट करिव डेढ दर्जन सरकारी वकील र नीजि वकिलले बहस सकेका छन् ।सरकारको प्रतिरक्षामा महान्यायाधिवक्ता अग्नि खरेल, नायव महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, नारायण प्रसाद पौडेल, विश्वराज कोइराला, डा।टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ताहरु श्यामकुमार भट्टराई, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले वहस गरे । प्रधानमन्त्रीका तर्फबाट नीजि कानुनव्यवसायीका रुपमा वरिष्ठ अधिवक्ता सुशिल पन्त, विष्णु भट्टराई, बालकृष्ण न्यौपाने, रमेश गुरागाईँ, रविनारायण खनाल, सुरेन्द्र भण्डारी, टंक दुलाल, अधिवक्ता रमेश वडाल, बाबुराम दाहाल, शान्ति देवी खनाललगायतले रिट निवेदकको प्रतिवादमा वहस गरेका थिए ।

यही माघ ४ देखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस शुरु गरिएको हो। रिट निवेदकका तर्फबाट बहस सकिएपछि माघ १९ देखि विपक्षीबाट बहस सुरु भएको हो। १३ रिट निवेदकका तर्फबाट ६८ जनाले बहस गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गर्नुभएको थियो।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ। त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए। कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही तथा सो सिफारिसका आधारमा भएरगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा, १३३ को उपधारा, २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ। साभार रासस

error: Content is protected !!