Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

हुम्लामा हिमपात, तापक्रम माइनसमा झ¥यो

सिमकोट  :  हिमाली जिल्ला हुम्लामा यस वर्षको तेस्रो पटक हिमपात भएको छ। शुक्रवार बिहानैबाट बाक्लो कुहिरोका साथै हिमपात सुरु भएको हो । हिमपात हुँदा चिसो अत्याधिक बढेको छ भने दिउसो नै तापक्रम माईनसमा झरेको छ।

बिहानैबाट हिमपात सुरु भएको स्थानीय लोकेन्द्र रावतले बताए। जमिनमा आधा फिट भन्दा बढी हिउँ जमेको छ भने हिउँ पर्ने क्रम जारी रहेको रहेको छ। बिशेष गरी नाम्खा गाउँपालिकाका अग्ला र उच्च स्थानमा दुई फिटसम्म हिउँ परेको छ।

बाक्लो कुहिरो पनि लागेको कारण मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न कठिन भएको हो। हिमपातसंगै उत्तरी हुम्लामा तापक्रम दिउसै माईनस आठ डिग्रीमा झरेको छ। चिसो अत्याधिक बढेपछि मानिस बाक्ला र उनीका कपडा लगाएर शरीरलाई न्यानो बनाउने कोशिस गरिरहेका छन्। हिमपातले गाइवस्तु गोठ बाहिर निकाल्न कठिन भएकोले गोठमै घाँस हालेर थुनिएका छन्।

मानिसको बाहिर आउजाउ पनि निक्कै पातलो रहेको छ । कार्यालयमा सेवाग्राही नआएपछि कर्मचारी आगो तथा हिटर तापेर बसिरहेका देखिन्छन्। बजारमा ब्यापारीहरु पसल अगाडि आगो तापेर ग्राहक कुरिरहेका छन्।

सडक सेताम्मे भएको कारण आन्तरिक रुपमा सञ्चालन हुदै आएका यातायात सेवा पनि बन्द रहेको छ। यस वर्षको यो तेस्रो हिमपात हो। यसअघि गता कात्तिक र पुस महिनामा हिमपात भएको थियो। हिमपात भएपछि पनि विद्यालयहरुले कक्षामा पठनपाठन भने जारी नै राखिएको छ। गत माघ १५ गतेबाट पठन पाठन सुरु गरेका विद्यालयहरुले कोर्ष सक्नका लागि भएपनि चिसोमा पठन पाठन जारी राख्नु परेको बाल मन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले बताए।
यता, विमानस्थलमा आधा फिट हिउ जमेपछि हवाइ सेवा बन्द भएको हो। हवाई सेवा बन्द हुदा यात्रुहरु नेपालगंज, सुर्खेत र सिमकोटमा रोकिनु परेको छ भने खाद्यान्न तथा काग्रोको सामान पनि ढुवानी हुन पाएन।