भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा शाही नियुक्त
दैलेख : सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा नेकपाका प्रदेश सङ्गठन समितिका सदस्य सूर्य बहादुर शाही नियुक्त भएका छन । पाँच दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको जिल्ला समितिमा सदस्यमा तत्ताकुमारी खड्का थापा र विज्ञ सदस्यमा तेज बहादुर चन्द नियुक्त गरेको हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएपछि गोरखापत्रकर्मी सँग कुरा गर्दै अध्यक्ष शाहीले दैलेख जिल्लामा भूमि सम्बन्धीको समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लाको नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका,आठबिस नगरपालिका र ठाँटिकाँध गाउँपालिका लगायत स्थानीय तहमा बर्षौ देखि भोग चलन गर्दै आएको भए पनि लालपुर्जा नपाएका भूमि हीन किसानलाई जग्गा उपलब्ध गराउने बताए । उनले भने सबै भन्दा पहिला भूमिहीनहरूको तथ्याङ्क संकलन गर्ने र प्राथमिकताका आधारमा काम गर्ने बताए । दुल्लु नगरपालिकामा रहेको जग्गा गुठी भित्र परेको र त्यो हुँदा भोग चलन गर्दै आएका किसानको समस्या समेत समाधान हुने अपेक्षामा आफूहरू रहेको स्थानीय किसानहरूले बताएका छन् ।
दुल्लु नगरपालिका वडा नः १० का वडा अध्यक्ष हर्क बहादुर खड्काले सरकारले भूमि सम्बन्धी समस्या आयोग गठन भए सँगै स्थानीय जनता समेत खुसी भएको बताए । उनले वडाको अधिकांश जग्गा गुठी भित्र भएका कारण किसानहरू समस्यामा परेको भए पनि अव आयोगले समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए ।