Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नौ सय ६५ जनाले लगाए कोरोना बिरुद्धको खोप


दैलेख  :  दैलेखमा नौ सय ६५ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन । सरकारले देश भर गत बुधवार सुरु गरेको कोरोना बिरुद्धको खोप अभियान अन्र्तगत मंगलवार सम्म दैलेखमा नौ सय ६५ जनाले कोरोना बिरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीर प्रसाद रेग्मीले जिल्लाका ११ स्थानीय तहमा उक्त खोप अभियान संचालन भएको बताए । उनले छिमेकी देश भारतबाट अनुदान स्वरुप प्राप्त खोप नेपाल सरकार मार्फत दैलेखलाई पहिलो चरणका लागि ४ हजार ४ सय ८० डोज खोप प्राप्त भएको बताए ।
कोरोनाविरुद्धको कोभिशिल्ड भ्याक्सिन खोप शुभारम्भ कार्यक्रममा डा. थापालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो खोप दिएर खोप अभियान सुरु गरिएको थियो । यो खोप पहिलो चरणमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सरकारी गैरसरकारी तथा नीजि क्षेत्रमा कार्यरत कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहान चालक, कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा आश्रीत नागरिक तथा कर्मचारीलाई लगाइने भएको छ ।
कोरोना बिरुद्धको खोप लगाउन अहिले स्वास्थ्य सेवा कार्यालय बाट डाक्टर सहितको टोली जिल्लाका ११ स्थानीय तहमा पुगेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर निरञ्जन पन्तले कोरोना बिरुद्ध खोप लगाएका स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयम सेविकामा कुनै समस्या नदेखिएको बताए । उनले कोरोना बिरुद्धको खोप लगाउन बिक्तिकै कुनै समस्या देखिएको खण्डमा त्यसको व्यवस्थापन गर्न आवश्यक जनशक्ति समेत तयार गरेको बताए । चाइनाको बुहान सहर बाट देखिएको कोरोना भाइरस संक्रमणका कारण दैलेखका ६ जनाको मृत्यु भएको छ ।