चार बेवारिसे महिलाको उद्धार
जुम्ला : जिल्ला प्रशासनको समन्वयमा चन्दननाथ नगरपालिका–३ स्थित ओढारमा बसिरहेकी कमला कुमाईसहित चार बेवारिसे महिलालाई उद्धार गरिएको छ। यो ओढार जुम्ला सदरमुकामबाट एक किलोमिटर टाढा पर्छ। कुमाइ किन ओढारमा बसेकी भन्ने पत्ता लाग्न सकेको छैन। उमेरले ६० वर्ष हाराहारी देखिने कुमाई उनी मानसिक रूपले पनि समस्याग्रस्त देखिन्छिन्। साथै उनमा पाठेघरको पनि समस्या देखिएको छ। ओढारमा भेटिएका चारै जना मानसिक रोगी हुन्।ओढारमै थलिएकी कुमाईको पटक–पटक रक्तश्राव भएको भेटिएको छ।
उनीहरूलाई आवश्यक सहयोग गरिदिन सबैले पहल गरिदिन प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अनुरोध गरेका छन्। यसरी उद्धार हुनेहरूमा चन्दननाथ नगरपालिका–९ की पुनी तिरुवा, दैलेख ठेगान भएकी कमला कुमाई, तातोपानी गाउँपालिका–५ की बाहुनी लाटी, सिंजा गाउँपालिका प्रेमकली नेपाली छन्।
प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले र ससस्त्र प्रहरीका गगन श्रेष्ठ, चन्दननाथ नगरपालिका, पत्रकार सम्मिलित टोलीले त्यही ठाउँमा पुगेर उनीहरुको उद्धार गरेका हुन्। प्रजिअ थापाका अनुसार तत्काल उनीहरुलाई जुम्ला पुनःस्थापना गर्ने ठाउँ नभएकाले मानव सेवा आश्रम सुर्खेत पठाइएको छ।
सडक मानवहरूको उद्धार गरी पठाउन चन्दननाथ नगरपालिकाले आर्थिक सहयोग र गाडीको व्यवस्था गरेको छ। गाउँ जान नमान्ने र आफूहरु वनपाले भएको बताउने उनीहरुको अवस्था निकै दयनीय भएकाले उद्धार गरिएको प्रजिअ थापाले बताए।फोटा साभार नेपाली रैवार