Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा हटाइए


धनगढी  : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाएका छन् । नेकपामा आएको विभाजनसँगै ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहका अनुसार मन्त्री बोहरालाई मुख्यमन्त्रीले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरेका हुन् । उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफैँसँग राखेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिममा यति बेला नेकपाभित्र ओली र दाहाल–नेपाल पक्षधरबीच सांसद तानातान देखिएको छ । सभामुखबाहेक नेकपाका ३८ सांसद रहेको सुदूरपश्चिममा सुरुदेखि नै दाहाल–नेपाल पक्षधर मजबुत छ । ओली पक्षमा पदमुक्त भएका मन्त्री बोहरासहित तीन जना मात्रै खुलेर लागेका थिए । पछिल्लो समय ओली पक्षधरमा खुल्ने प्रदेश सांसदको संख्या आठ पुगेको बताइन्छ ।

दाहाल–नेपाल पक्षधर रहेका भट्ट नेतृत्वको वर्तमान सरकार परिवर्तन गर्न २७ सांसदको आवश्यकता पर्छ । हाल प्रदेशसभामा नेपाली कांग्रेसका १२ र राजपाका दुई सांसद छन् । दुवै प्रतिपक्षी दलका सांसदहरू एक भएर वर्तमान सरकार फेर्न पनि ओली समूहका १३ जना सांसदको आवश्यकता पर्छ । ओली समूहमा १३ जना सांसद नपुग्ने विष्लेषणसहित वर्तमान सरकार ढुक्क देखिन्छ । ओली समूह भने सरकार ढाल्न पुग्ने संख्या पुर्‍याउने कसरतमा रहेको एक सांसदले बताए ।