झोलुङ्गे पुल निर्माण भएपछि नागरिकलाई सहज
दैलेख : नारायण नगरपालिका वडा नः ७ र वडा नः ११ जोड्ने लोहोर खोलाको लिड्केमा निर्माण गरिएको १०५ मिटर लामो झोलुङ्गे पुलको उद्दघाटन गरिएको छ । प्रदेश सभा सांसद अम्मर बहादुर थापाले उक्त झोलुङ्गे पुलेको मंगलवार उद्दघाटन गरेका छन ।
झोलुङ्गे पुल निर्माणका लागि ग्रामिण विकास सेवा केन्द्रले २०७६ भदौ ८ गते सम्झौता गरेको थियो । पुल निर्माणका लागि संघिय सरकारको ४० लाख ३६ हजार ६२४ रुपिँया बिनियोजन गरेको थियो ।
नारायण नगरपालिकाले आवश्यक सामाग्री खरिदमा दुई लाख ९४ हजार २७४ रुपैया टिविएयु हेल्भटास द्धारा ४ लाख ७५ हजार ५ सय गरी जम्मा ४९ लाख ४ हजार ५७८ रकम खर्च भएको ग्रामिण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नविन कुमार शर्माले जानकारी दिए ।
झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष हिम बहादुर सुबेदीले पुल निर्माण बाट बचेको एक लाख ५० हजार राज्य कोषमा नै फिर्ता गर्ने बताए । उनले आफुले राम्रो र गुणस्तरीय काम गरेर एक लाख ५० हजार बचेको र उक्त रकम राज्यकोषमा फिर्ता गर्ने बताए । पुल निर्माण भए संगै नारायण नगरपालिका वडा नः ७ र ११ का जनतालाई आवत जावत गर्न सजिलो हुने भएको छ ।
नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले झोलुङ्गे पुल निर्माण भए संगै वडा नः ११ र ७ का नागरिकलाई सहज भएको बताए । उनले वडा नः ११ मा रहेका विद्यालयमा जान नसक्ने बालकालिकालाई समेत नारायण नगरपालिका वडा न ः ७ मा रहेको विद्यालयमा अध्ययन गर्न सजिलो हुने बताए । उनले झोलुङ्गे पुल निर्माण कार्य तोकिएको समय सिमा भित्र निर्माण गरी सामाजिक लेखा परिक्षण गर्ने सस्थालाई धन्यबाद दिएका छन ।