Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कर्णालीमा दाहाल – नेपाल समूह अल्पमतमा, धरापमा प्रदेश सरकार


सुर्खेत  :  प्रतिनिधिसभा विघटन भएसँगै यतिबेला नेकपा फुटको संघारमा पुगिसकेको छ। नेकपामा ओली र प्रचण्ड–नेपाल पक्षले औपचारिक रूपमा पार्टी फुटिसकेको घोषणा नगरे तापनि दुई पक्षबीच द्वन्द्व, गुटगत भेला‍ र प्रदेशमा विभिन्‍न अड्कलबाजीहरू सुरु भइसकेको छ।

यतिबेला कर्णाली प्रदेशको सरकार के हुने भन्ने जिज्ञासा पनि बढ्दै गएको छ। पूर्व माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको कर्णाली प्रदेश सरकारमा अहिले पूर्व माओवादी केन्द्रका मुख्यमन्त्री शाहीसहित दुई जना, केपी ओली पक्षका दुईजना र माधव नेपाल पक्षका एकजना मन्त्री रहेका छन्। केन्द्रमा पार्टीमा आएको फुटसँगै कर्णाली प्रदेशको सरकारका विषयमा पनि विभिन्न अड्कलबाजी भइरहेका छन्। प्रदेश सरकारका लागि आवश्यक बहुमत संख्या नेकपा विभाजनसँगै गुमेको देखिएको छ।

खासगरी पूर्व माओवादीको कोटाबाट प्रदेशसभा सदस्य बनेका प्रदेश सभा सदस्यहरू दैलेखका धर्मराज रेग्मी र ठम्मर विष्टलाई ओली पक्षको केन्द्रीय समितिमा मनोनयन गरेसँगै प्रदेश सरकारका बारेमा अड्कलबाजी गर्न थालिएको हो।

कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका पूर्वमाओवादी सांसदहरू ओली समूहको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। मंगलबार केपी शर्मा ओलीले एकलौटी रूपमा थपेका ५ सय ५६ जना केन्द्रीय सदस्यमध्ये कर्णालीमा प्रतिनिधित्व गर्ने पूर्वमाओवादी सांसद पनि परेका हुन्।

विष्ट सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने रेग्मी दैलेखको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका हुन्। तत्कालीन माओवादी र एमालेको गठबन्धनबाट उनीहरूले माओवादीको तर्फबाट चुनाव जितेका थिए।