Loading... आजः बिहिबार, बैशाख २०, २०८१
Trending

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड


काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन्। (बिहीबार) साझ पाँच बजे प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बैठक डाकेपछि अध्यक्ष प्रचण्ड बालुवाटार गएको प्रचण्डको सचिवालयले जनाएको छ।

‘संवैधानिक परिषदको बैठक के कारणले डाकिएको हो त्यसबारे बुझ्नको लागि उहाँ (प्रचण्ड) बालुवाटार जानु भएको हो, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने। प्रधानमन्त्री ओलीले साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका छन्। बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा भने नजाने भएका छन्।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म देउवा बैठकमा नजाने कांग्रेसले जनाएको छ। यता संवैधानिक परिषदका अर्का सदस्य सभामुख अग्नि सापकोटालाई भने बैठकबारे कुनै जानकारी नभएको उनको सचिवालयले जनाएको छ। यस अघिका दुई वटा बैठक सभामुख सापकोटाले बहिष्कार गरेका थिए।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि नेकपाभित्र विवाद झन चर्केको छ। त्यसो त बुधबार बसेको नेकपाको स्थायी कमिटीको बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। फिर्ता लिने निर्णय गराएर ओलीले फिर्ता नहुँदै परिषदको बैठक बोलाएका छन्। उक्त अध्यादेश फिर्ता लिन ओलीलाई चौतर्फी दबाब छ।