Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

पत्रकार डेकेन्द्रको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ


दैलेख :  प्रहरीले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको छ। पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिका(३ द्वारीका ५८ वर्षीय हरीलाल पुनलाई प्रहरीले सोमबार घरबाटै पक्राउ गरेको हो। पत्रकार थापाको हत्यामा संलग्न ९ जनामध्ये पुनलाई पक्राउ गरेर मंगलवार जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ९डीएसपी० अनुपम श्रेष्ठले जानकारी दिए।

जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो। फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो। न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले तत्कालीन अवस्थामा पक्राउ परेका पुनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी १ वर्ष ७ महिना १ दिन जिल्ला कारागारमा थुनामा रहेका थिए।

थुनामा रहेको अवस्थामा पुनले तत्कालिन पुनरावेदन अदालत सुर्खेतबाट बन्दी प्रत्यक्षीकरण अनुसार थुनामुक्त भएका थिए। पुनरावेदन अदालत सुर्खेतको आदेशमा उनी थुनामुक्त भइसकेपछि जिल्ला न्यायाधीश श्रेष्ठकै इजलासले २ वर्ष कैद सजाय तोकेको थियो।त्यसयता उनी फरार रहेको खुलाएको र ४ महिना २९ दिन कैद भुक्तान बाँकी रहेकाले पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।

पत्रकार थापाको श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा कर्तव्य ज्यान मुद्दामा ९ जना माओवादी कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएपछि तत्कालिन अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपनि ५ जनासँगै पुन पनि पुर्पक्षका लागि थुनामा रहेका थिए। अन्य ४ जना भने जिल्ला अदालतबाट भएको फैसला अनुसार कैद भुक्तानी गरी मुक्त भैसकेका छन्। तर पत्रकार थापाको हत्यामा संलग्न मुख्य व्यक्ति हालसम्म पक्राउ परेका छैनन्। पत्रकार थापाको हत्याका मुख्य अभियुक्त ठहरिएका अरुण भनिने बमबहादुर खड्का एक वर्षअघि पक्राउ गरी पुर्पक्षका लागि थुना रहेका छन् भने अन्य ३ जना हालसम्म फरार रहेको प्रहरीले जनाएको छ। तत्कालीन विद्रोही नेकपा माओवादीले २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरेको थियो। पत्रकार थापालाई माओवादी कार्यकर्ताले नौमुले गाउँपालिका(३ मा हत्या गरी खाल्डोमा गाडेका थिए। साभार ज्वाला सन्देश