Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

सुर्खेतमा मेलम्चीपछिको ठूलो खानेपानी आयोजना


मुना हमाल

सुर्खेत  :  सुर्खेत उपत्यकामा मुलुककै दोस्रो ठूलो खानेपानी आयोजना निर्माण गरिने भएको छ । अबको तीन वर्षभित्र भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको र यो काठमाडौँमा सञ्चालित मेलम्ची खानेपानी आयोजनापछिको ठूलो आयोजना भएको खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक सूर्यराज कँडेलले बताए ।यो आयोजनाले कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत उपत्यकाको तत्कालको समस्या समाधान गर्दै ३० वर्षसम्मको खानेपानीको आवश्यकता पूरा गर्नेगरी आयोजना अगाडि बढाइएको विभागले स्पष्ट पारेको छ । आयोजनाको लागत करिब सात अर्ब रुपियाँ हुनेछ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश राजधानीको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताए । उनले खानेपानी समस्या समाधान गर्न सङ्घीय र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने, बजेट व्यवस्थापनमा समेत तयार रहेको जानकारी दिए ।
उपत्यकामा भेरीको पानी ल्याउन सङ्घीय र प्रदेश सरकारले पटक पटक बजेट विनियोजन गरे पनि योजना अगाडि नबढ्दा बजेट फ्रिज हुँदै आएको थियो ।
भेरी नदीको पानी उपत्यकामा ल्याउन चार वर्ष अघिदेखि चर्चा चल्दै आए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन । अब विभागले यहाँको खानेपानी समस्या समधान गर्न दीर्घकालीन रूपमा योजना अगाडि बढाउने गरी सक्रियता देखाएको छ ।
खानेपानी आयोजना दीर्घकालीन रूपमा अगाडि बढाउन खानेपानी तथा ढल व्यवस्था विभागको प्राविधिक सहितको टोली अहिले सुर्खेतमा छ । पहिले भएको अध्ययनमा भेरी पुुल र झुप्रा खोलाको दोभान बीचबाट पानी पम्पिङ गरेर ल्याउने उल्लेख गरिएको थियो । तर उक्त ठाउँ उपयुक्त नभएपछि ५७४ मिटर माथिबाट पानी ल्याउने गरी अध्ययन अगाडि बढाइएको विभागले जनाएको छ । अबको एक हप्ताभित्र भेरीमा इन्टेक गराउने ठाउँमा गहिराइ नाप्ने र संरचना डिजाइनको काम दुई महिनाभित्र सक्ने गरी प्राविधिक टोली अगाडि बढेको छ ।

उक्त ठाउँबाट पानी ल्याउन सात किलोमिटर पाइपलाइन निर्माण गरिने छ । भेरीबाट चार सय मिटरमाथि पम्पिङ गरेर अमृतडाँडासम्म पानी ल्याउन मात्रै करिब दुई अर्ब रुपियाँ लगानी गर्नुपर्ने अनुमान गरिएको छ । अमृतडाँडामा १२ हजार क्युबिक लिटर क्षमताको ट्याङ्की निर्माण गरिने छ । मुहानदेखि अमृतडाँडासम्म पानी ल्याइसकेपछि वीरेन्द्रनगर उपत्यकामा पानी वितरणका लागि संरचना तयार गर्न चार अर्ब ६३ करोड ७९ लाख नौ हजार रुपियाँ लाग्ने अनुमान छ ।
विभागका महानिर्देशक सूर्यराज कँडेलले ठूलो लगानीको आयोजना भएकाले विज्ञहरूसँग छलफल भइरहेको जानकारी दिदै अब काम तीव्र गतिमा अगाडि बढ्ने बताए । अहिले सुर्खेत खानेपानी उपभोक्ता संस्थाले सुर्खेत उपत्यकामा खानेपानी उपलब्ध गराइरहेको छ ।विभिन्न स्रोतबाट सङ्कलन गरेर अहिले सुर्खेत उपत्यकामा १५७ लिटर प्रतिसेकेन्ड पानी आउँछ । तर उपत्यकाको खानेपानी समस्या समाधान गर्न २५७ लिटर प्रतिसेकेन्ड पानी आउनुपर्छ ।
अहिले वीरेन्द्रनगरमा १८ हजारको हारहारीमा धारा जडान गरिएको छ । अबको ३० वर्षसम्मको मागलाई हेरेर वीरेन्द्रनगरमा खानेपानी योजना निर्माण गरिने र तत्कालको समस्या समाधान गर्नेगरी दीर्घकालीन योजना अगाडि बढाउन विभागले सक्रियता देखाएको हो ।
अहिले वीरेन्द्रनगरको जनसङ्ख्या दुई लाख जति रहेको र अबको ३० वर्षमा चार लाख पुग्ने अनुमान गरिएको छ । सोहीअनुसार दीर्घकालीन रूपमा योजना अगाडि बढाउने गरी विभाग लागिपरेको हो साभार गोरखापत्र

error: Content is protected !!